झापा । 

झापाको  मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो मेचिपुलबाट लागू औषध र मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 


लागू–औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदैं गरेको बा.५३ प.१२४५ नम्बरको मोटरसाईकललाई शंका लागेर बुधवार साँझ ६ बजेको समयमा चेकजाँच गरेको थियो । 


 चेकजाँचको क्रममा चालक कमल गाँउपालिका वडा नम्बर ४ का ४१ बर्षिय धन बहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । चेकजाँच गर्दा प्लाष्टिकमा पोका पारी हेलमेट भित्र लुकाई ल्याउँदै गरेको प्रतिबन्धित लागू–औषध खैरो हेरोइन प्लाष्टिक बाहेक २ ग्राम १९० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 


चेकजाँचका क्रममा लिम्बुको साथबाट लागूऔषध फेला परेसँगै उनीसँग रहेको मोवाइल २ थान, नेपाल एसबिआई बैंक लिमिटेडको एटीएम कार्ड थान १, कुमारी बैंक लिमिटेडको एटीएम कार्ड थान १, नेपाली नगद १० हजार र मोटरसाईकल सहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।


उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।