झापा । 

झापा र मोरङको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।


 झापाको अस्थायी प्रहरी पोष्ट नयाँबसपार्क बिर्तामोडको प्रहरी टोलीले सिन्धुलीका २८ बर्षीय धन बहादुर बस्नेतलाई ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित र मेचीनगर–६ धाईजनका ३० बर्षीय सोनु तामाङ र २८ बर्षीय शुरेश गुरुङलाई १ ग्राम ८७० मिलिग्राम  ब्राउनसुगरसहित  इलाका प्रहरी कार्यालय धुलावारी र लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 


यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र.१–०१–०१५ प ७८०८ नम्बरको स्कुटरमा सवार कमल गाँउपालिका–१ का २९ बर्षीय मौसम लिम्बु र ३६ बर्षीया सर्मिला राईलाई ५ ग्राम ५३० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो । 


प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  


त्यस्तै लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर–१६ स्थितमा चेकजाँचको क्रममा को. १९ प ८५९२ नम्बरको मोटरसाईकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका–५ का २५ बर्षीय अभिषेक चौधरी र सुन्दरहरैचा–४ का ३० बर्षीय उज्वल सापकोटालाई ३ ग्राम २४ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।