काठमाडौं । 

दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार आएर शवको सनाखत भएपछि मात्रै पोस्ट मार्टम गरिनेछ । 

त्रिवि अस्पतालमा अहिले दुर्घटनामा परेका परिवारजनको भीड लागेको छ । शव पहिचानको कार्य जारी रहेको अस्पताल स्रोतले जनाएको छ ।  दुईवटा शवको पहिचान गर्न सकिने अवस्थामा छन् बाँकीको शव जलेर चिन्न नसकिने अवस्थामा छ । यात्रुमध्ये एकजना महिला, एक १० वर्षीय बालक, एक विदेशी र अन्य पुरुष छन् । 

ग्राउण्डेड रहेको जहाजलाई मर्मतका लागि पोखरा लगेर मर्मत गर्ने क्रममा इन्जिनियर यज्ञप्रसाद पौडेल पनि सोही जहाजमा जाँदै थिए । उनकै नेतृत्वमा जहाज मर्मत गर्ने योजना रहेको थियो, एयरलाइन्सका एक कर्मचारीले बताए । सो जहाज काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा जानका लागि उड्ने क्रममा आगो लागेको थियो । जहाज उड्ने क्रममा रनवे छेउमा रहेको कन्टेनरमा ठोक्किएको र दुई टुक्रा भएको थियो । 

जहाजका क्याप्टेन मनिषरत्न शाक्यको भने केएमसी अस्पताल सिनामङ्गलमा उपचार जारी छ । अस्पतालका चिकित्सक डा. विशद दाहालले उनको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले उनको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको जानकारी दिएका छन् ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट सुशान्त कटुवाल रहेका थिए ।

विमानमा सवार कर्मचारीहरूमा अमितमान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने यमनका विदेशी नागरिक हुन् ।