बिर्तामोड । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर–३ ढडुवास्थित आदर्श चोकमा रहेको १४ कठ्ठा जग्गा प्रपण्च रचेर हडप्ने खोजेको जग्गाधनिले दावी गरेका छन् । 

बिर्तामोड–४ का उप्रेती परिवारले हल्दिबारी–३ मा खरिद गरेको १४ कठ्ठा जग्गा सबै बाटोमा परेको भन्दै जग्गा ‘हडप्ने’ प्रपञ्च भइरहेको जनाएको हो । जग्गा आसपासका केही संधियारको दृष्टिका कारण आफ्नो १४ कठ्ठा जग्गाको नामोनिसान नरहेको सावित गर्न खोजिएको उप्रेती परिवारको भनाइ छ ।

१० वर्ष अघि चित्रबहादुर गुरुङसँग कित्ता नं. ६०९ को १४  कठ्ठा जग्गा आफ्नी श्रीमती टीकादेवी उप्रेतीको नाममा किनेको हरिप्रसाद उप्रेतीले बताए । ‘जग्गा हेर्न जाँदा तपाईंको जग्गा यहाँ छैन, सबै बाटोमा गयो भनेर भनियो’  उनले ‘मैले सहमति गर्न धेरै प्रयास गरें, अन्तिममा उहाँहरुले तपाईं कानूनी बाटोमा जानुहोस् भन्नुभयो ।’

उप्रेती त्यसपछि आफू कानूनी बाटोमा लागेको उनले बताए । अदालतको आदेशमा जग्गाको नापचाँज गर्न पठाएको नापी कार्यालयका कर्मचारीले जग्गा रहेको नक्सासहितको प्रतिवेदन तयार गरेको उनले बताए । आफूलाई थाहा नै नदिई सबै जग्गा हुलाकी मार्गमा परेको भन्दै नापी कार्यालयका अघिल्लो प्रतिवेदन बनाउने कर्मचारीहरुले नै पुनः अर्को प्रतिवेदन बनाएर अदालतमा पु¥याएको उनको भनाइ छ ।

गत जेठ २८ गते अदालतको फैसला आफूहरु प्रतिकूल भएको असार ४ गते थाहा पाएपछि आफू अन्यायमा परेको थाहा पाएको जग्गाधनी टिकादेवीका छोरा युवराज उप्रेतीको भनाइ छ । अदालतको पूर्ण पाठ आउन बाँकी नै रहेकाले न्याय पाउने आस जिवितै रहेको उनको भनाइ छ ।

‘एउटै कर्मचारीले भिन्दा भिन्दै प्रतिवेदन बनाएर दिएका रहेछन’ उनले भने ‘हामीलाई थाहा भएन, अदालतको फैसलापछि खोजी गर्दा अकैं नक्सासहितको प्रतिवेदन हालिएको रहेछ, दुवै प्रतिवेदनमा एउटै कर्मचारीको दस्तखत छ ।’ आफूहरु अन्यायमा परेकाले जग्गाधनी उप्रेती परिवारले आज (मंगलबार) बिर्तामोडमा पत्रकार सम्मेलन गरेर न्यायका लागि अपिल समेत गरेको छ ।