हल्दीबारी । 

अपरिचित ब्यक्तिहरुले झापाको हल्दीबारी गाउँपालिका भित्र घरनक्सा नापजाँच गर्न आएको भन्दै रकम असुलेको गुनासोप्रति पालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । 


केहि दिनदेखि हल्दीवारी गाउँपालिका भित्र ‘हामी घरनक्सा नापजाँच गर्न गाउँपालिकाले पठाएर आएका मान्छे हौं’ भन्दै केहि अपरिचित व्यक्तिहरु घर–घर पसेर घरनक्सा नापजाँच गर्ने तथा अवैध तरिकाले रकम असुल समेत गरेको जानकारी एवं गुनासाप्रति गाउँपालिकाको ध्यानाकर्षण भएको हो । 


गाउँपालिकाले कुनैपनि व्यक्ति, संघ/संस्था तथा फर्महरुलाई घरनक्सा नापजाँच गर्ने प्रयोजनका लागि कहि कतै नपठाएको सोमवार एक सूचना जारी गर्दै जानकारी गराएको छ । 


पालिकाले आफ्नो घरको घरनक्सा बनाउन तथा नापजाँच गर्ने संस्था/फर्म रोज्ने अधिकार स्वयम सम्बन्धित घरपरिवारलाई नै हुने ब्यहोरा जानकारी गराउदै त्यस्ता अपरिचित ब्यक्तिहरु आएमा पहिचान गरी विना प्रमाण÷आधार घरभित्र पस्न नदिन गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत राजन न्यौपानेले आग्रह समेत गरेका छन् । 


जारी सूचनामा भनिएको छ ‘त्यस्ता अपरिचित ब्यक्तिहरु घरमा पसेर विना जानकारी घरनक्सा नापजाँच गर्ने तथा अवैध तरिकाले रकम असुल गरेको थाहा पाइएमा नजिकको प्रहरी चौकी, वडा कार्यालय, गाउँपालिकाको कार्यालयमा वा नजिकका जनप्रतिधिहरुलाई तुरुन्त खवर गर्नुहुन अनुरोध छ ।’