बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाले नगरवासीलाई विषादीरहित अर्गानिक तरकारी खुवाउने उदेश्यले तयार पारेको सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटनलाई अघि बढाएको छ ।
नगरले तयार पारेको ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र मध्ये सोमवार २ वटा बिक्री केन्द्रको उद्घाटन गरिएको छ ।
‘पारीको होइन बारीको खाऊँ भन्ने मुख्य नाराकासाथ अघि बढाईएको यस कार्यक्रम अन्तर्गत रहेका वडा नम्बर ५ को तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्र र पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको हो ।
तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको कार्यवाहक नगर प्रमुख सिता ढुंगाना र पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्रको निबर्तमान नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै निबर्तमान नगर प्रमुख शिवाकोटीले खाली जमिनलाई बाँझो नराखी अर्गानिक तरकारी उत्पादन गर्न सबैलाई आग्रह गरे । विषादी हालिएका तरकारीबाटै प्राणघातक रोग लाग्ने गरेको भन्दै उनले यसबाट बच्नको लागि विषादी रहित भान्छामा जोड दिए।
यस्तै वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाईले नगरको यो कार्यक्रम सफल बनाउन सहभागी सबैलाई आग्रह गर्दै आगामी दिनमा यस प्रकारका विक्री केन्द्र सबै टोलमा बिस्तार गर्न सकिने बताए । सबैजना अर्गानिक तरकारी उपभोगमा लाग्ने हो भने भारतजाने पैसासमेत रोकिने उनको धारणा थियो ।
बिर्तामोड नगरपालिकाले कार्यक्रम सफल बनाउन चालुआर्थिक वर्ष भित्रै तरकारी संकलनका लागि एउटा गाडीसमेत खरिद गर्ने जनाईएको छ ।
बिक्री केन्द्रका अध्यक्ष युवराज चिमरीयाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य संगिता शिवा, वडा नम्बर ५ का वडासदस्य ओमभक्त सेडाईँ, व्यवसायी नारायण चिमरीया लगायत विभिन्न व्यवसायी, कृषक, उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
नगरपालिकाले अन्य वडामा रहेका संकलन तथा बिक्री केन्द्रहरुलाई क्रमश उद्घाटन गर्ने कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए।