झापा । 

 करिब ९ सय २२ म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार पठाएका छन् । जस मध्ये गत वर्ष २७ वटा म्यानपावर कम्पनीले भने एक वर्षको अवधिमा नौ जनाभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउन नसकेको बैदेशिक रोजगार बिभागले जनाएको छ । 


गत वर्ष म्यानपावर कम्पनीमार्फत ३ लाख ५३ हजार १ सय ६३ जना वैदेशिक रोजगारमा गएकोमा ७८ वटा म्यानपावर कम्पनीले एक हजारभन्दा बढी कामदार पठाएका छन् । तर, केहीले १० जना पनि पु¥याउन नसकेको बताइएको छ । 


 कम्तीमा ५० लाख नगद धरौटी र एक करोड ५० लाख बैंक ग्यारेन्टी राखेर स्थापना भएका म्यानपावर कम्पनीले १० जना पनि कामदार पठाउन नसकेको तथ्याङ्कले देखाएको छ । 


 गत वर्ष एक जना मात्रै पठाउने तीन, दुई जना पठाउने चार, तीन जना पठाउने चार, चार जना पठाउने पनि चार, पाँच जना पठाउने चार, छ जना पठाउने एक, सात जना पठाउने पनि चार, आठ जना पठाउने एक र नौ जना पठाउने तीन वटा म्यानपावर कम्पनी छन् ।विभागले सार्वजनिक गरेको तथ्यांकमा ९० भन्दा बढी सय भन्दा कम पठाउने ६ वटा म्यानपावर कम्पनी छन् ।


प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले इजाजतपत्र नवीकरणका लागि वार्षिक सय जना कामदार अनिवार्यरुपमा वैदेशिक रोजगारमा पठाउनुपर्ने बाध्यतात्मक प्रावधानले पारेको समस्या, मागपत्र प्रमाणीकरण सम्बन्धमा रहेका समस्या र अव्यवहारिक सेवा शुल्क परिमार्जनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको शनिवार ध्यानाकर्षण गराएको छ।