सुरुङ्गा । 

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित टेक्राबाट आज (शनिवार) बिहान ३:३० बजेको समयमा काठसहित पिकअपलाई पक्राउ गरिएको छ । 


अस्थाई प्रहरी चौकी माईधारको प्रहरी टोली र गैडे सामुदायिक बन उपभोक्ता समितिको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा कनकाई माई खोलाको बगरबाट सखुवा जातको चिरान काठसहित पिकअप भ्यान नियन्त्रणमा दिएको हो । 


कनकाई माई खोलाको बगरमा मे १ च ६२३६ नम्बरको पिकअप भ्यानमा सखुवा जातको चिरान काठ (फेन्टा) ५२ क्यु.फिट एक लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको लोड गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


पक्राउ गर्ने क्रममा संलग्न मानिसहरु उक्त गाडी र काठ छाडेर फरार भएकोले गाडीसहित काठ नियन्त्रणमा लिइएको हो । काठ र सवारी साधन आवश्यक कारवाहीको लागि गैडे सामुदायिक बन उपभोक्त समितिको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।