सुरुङ्गा । 

पूर्वकै पुराना धार्मिक तथा पर्यटकीय क्षेत्र मध्ये एक कनकाई धाम धार्मिक संस्था कोटीहवनमा यस बर्षको श्रावण महिनाको चार सोमवार बिशेष कार्यक्रम गरेर मनाइने भएको छ । 

झापाको कनकाई नगरपालिका–४ मा अवस्थित संस्थामा कनकाई धाम धार्मिक विकास समितिले श्रावण महिनाको प्रत्येक सोमबार कनकाई आरती, रुद्राभिषेक, हवन, भजनकिर्तन, झाँकी, शिव ताण्डप नृत्यलगायतका कार्यक्रम गरेर मनाउने भएको हो ।  

समितिले आज (बुधवार) मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी यस बर्षको श्रावण महिनामा गरिने कार्यक्रमको तयारीका बिषयमा जानकारी दिएको हो । 

सवैको आस्थाको केन्द्र धार्मिक तथा पर्यटकीय स्थलमा कार्यक्रमलाई ब्यवस्थित, राम्रो र सुरक्षित बनाउनका लागि समिति जिम्मेवार रहेको संस्थाका अध्यक्ष शेरबहादुर थापाले बताएका छन् । ‘कार्यक्रममा भक्तजनलाई सुरक्षाको प्रत्याभूति दिन समुह बनाइको छ’ अध्यक्ष थापाले भने ‘रात्रीकालीन सुरक्षाका लागि गार्डको ब्यवस्था गरिएको छ ।’ कार्यक्रमलाई अझ सुरक्षित बनाउन प्रहरी प्रशासनसमक्ष सुरक्षाका लागि प्रहरीको माग गरिने उनले बताए ।  

kotohom

यस बर्षदेखि कनकाईमाई नदीबाट जल ल्याएर कनकेश्वर शिव पञ्चायन मन्दिरमा जल चढाइने, प्रत्येक सोमवार रुद्राभिषेक हवन तथा भजनकिर्तन गरिने, धाममा रहेको गुरुकुलको बिकास र बिस्तार गरिने, गौशलाको बिकास गरिने, गंगा आरती जस्तै कनकाई आरतीको शुरुवात गरिने अध्यक्ष थापाले बताए । 

तीन बिगाहा १३ कठ्ठा १० धुर जग्गामा फेलिएको संस्थामा कोटी यज्ञ मण्डप, शिव पन्चायन, कनकेश्वर महादेव, ब्रम्हलिङ्ग मन्दिर, गणेश हनुमानजी, स्तम्भ, योगी नगरहरि गुरुको प्रतिमा मुर्ति, दुर्गा भगवतीको मन्दिर, हरेक थर गोत्रिय बन्धुहरुको गोत्रिय ऋषिमुनिका मन्दिरहरुलगायत रहेको संस्थाका अध्यक्ष थापाले जानकारी दिए । स्वागत उपाध्यक्ष निर्मलकुमार खतिवडाले गरेको कार्यक्रमको सञ्चालन महासचिव दिनानाथ खतिवडाले गरेका थिए । 

पत्रकार सम्मेलन अघि संस्थाको परिसरमा लक्ष्मीनारायण मन्दिरको शिलान्यास गरिएको थियो । झापाको दमक नगरपालिका–६ का हिरण्य कुमार ढुङ्गेल र उनकी धर्मपत्नि दुर्गादेबी ढुङ्गेलले आफ्ना पृत्रिहरुको स्मृतिमा मन्दिर र मुर्ति गरेर करिव ३५ लाख रुपैयाँका लागतमा उक्त मन्दिर निर्माण गरिदिने भएका हुन् । 

धार्मिक स्थल सवै समुदायको साझा भएकाले  मारवाडी र मधेशी समुदायलाई लक्षित गरी लक्ष्मीनारायणको मन्दिर दाताद्धारा निर्माण गरिएको अध्यक्ष थापाले बताए ।  कनकाई धाम धार्मिक संस्था कोटीहवन प्रचारप्रसारका कारणले पछि परेको भन्दै बिकाससँगै प्रचारप्रसारलाई तिव्र बनाइने बताइएको छ ।