हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण शुरु गरेको छ । सामाजिक सुरक्षा नियमावली २०७६ (दोस्रो संसोधन) को नियम ९ बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुको आर्थिक बर्ष २०८१/०८२ का लागि पालिकाले नविकरण गर्न शुरु गरेको हो ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न श्रावण १ गतेदेखी भाद्र मसान्त भित्र परिचयपत्र नविकरण गर्नुपर्ने व्यवस्था भए बमोजिम गाउँपालिकाले सूचना प्रकाशित गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिए ।
पालिकाले क्षेत्रभित्र रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई श्रावण १ गतेदेखी भाद्रमसान्त भित्र आ–आफ्नो वडा कार्यालयमा औठाछाप मार्फत नविकरण हुने भएकाले स्वयम् उपस्थित भएर नविकरण गराउन आग्रह गरेको छ ।
तोकिएको समयभित्र परिचयपत्र नविकरण नगराएमा सामाजिक सुरक्षा भत्ता प्राप्त नहुने र पुनः नयाँ लाभगा्रही सरह निवेदन प्राप्त भएको अर्को महिनादेखि मात्र भत्ता उपलब्ध हुने पालिकाले जनाएको छ ।
नबिकरणका लागि सामाजिक सुरक्षा परिचयपत्र, नागरिकता प्रमाणपत्र प्रतिलिपी, बालबालिकाको हकमा जन्मदर्ता र संरक्षकको नागरिकता प्रमाणपत्र प्रतिलिपी, अपाङ्गगता भएका व्याक्तिहरुको हकमा अपाङ्गगता परिचपत्र, पासपोर्ट साईज फोटो १ प्रति, राष्ट्रिय परिचयपत्र/राष्ट्रिय परिचयपत्र विवरण दर्ता भएको फारम आवश्यक रहेको पालिकाले जनाएको छ ।
बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता नभएपनि सामाजिक सरक्षा भत्ता पाइने बताइएको छ ।