संखुवासभा ।
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बिलुवा दोभानमा पहिरोले पुरिएर एका घरका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आज (मंगलबार) बिहान ५ बजे सोही स्थानका मोतीमाया राईको टाटी बेरा भएको घरमा ढुंगासँगै पहिरो खस्दा घर भित्र रहेका ६ जना मध्ये घर धनि ५५ बर्षीया मोतीमाया राई र बुहारी २७ बर्षीया समिक्षा राईको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै छोरी २७ बर्षीया रबिना राई घाइते भएकी छन् ।
घाइते रबिनालाई थप उपचारको लागि नेपाली सेनाको हेलीकप्टरद्धारा उद्धार गरी सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
अन्य घरका सदस्य ज्वाई नाताका ३३ बर्षीय मनिकुमार राई, नाती १२ बर्षीय अमिर राई र नतिनी ४ बर्षीया समृद्धी राईलाई सकुशल उद्धार गरिएको छ ।
घटनास्थलमा प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय समखुवासभाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली गएर उद्धार कार्य भईरहेको प्रहरीले जनाएको छ ।