हल्दीबारी । 

सेवा प्रवाहलाई अझ चुस्त दुरुस्त र सेवाग्राही मैत्री बनाउने उद्देश्यले झापाको हल्दीबारी गाउँपालिकाले श्रेणीबिहिन कर्मचारीका लागि क्षमता अभिबृद्धि कार्यक्रम गरेको छ । 


गाउँपालिकाको कार्यालयमा सोमबार श्रेणीबिहिन कर्मचारीका लागि क्षमता अभिबृद्धि सम्बन्धी अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न भएको हो । 


गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका क्षेत्र भित्रका पालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभुत अस्पतालमा कार्यरत श्रेणीबिहिन कर्मचारी, कार्यालय, सहयोगी, चालक, सरसफाइकर्मी तथा सुरक्षागार्डहरुको लागि क्षमता अभिबृद्ध सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । 


क्षमता अभिबृद्ध सम्बन्धी अभिमुखिकरणको सहजीकरण पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), लेखा अधिकृत दिपक भट्टराई र योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए । 


कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेबी मैनालीको पनि आतिथ्य रहेको थियो ।  तालिममा पालिकाबाट प्रवाह हुने सेवासुबिधाका बिषयमा छिटो छरितो सेवाग्राहीलाई सेवा दिन श्रेणीबिहिन कर्मचारीलाई तालिम प्रदान गरिएको योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिए ।