झापा । 

श्रम, राजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शरतसिंह भण्डारीको नियुक्तिलाई म्यानपावर ब्यवसायीले सकारात्मक रुपमा लिएका छन् । वैदेशिक रोजगार क्षेत्रका सरोकारवालाहरूले मन्त्री भण्डारीलाई सकारात्मक भनि टिप्पणी गरेका छन् ।


मन्त्री भण्डारीको पुनरागमनलाई आफूहरूले सकारात्मकरुपमा लिएको  नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन् ।संघले आज (मंगलबार) कार्यसमितिको तर्फबाट नवनियुक्त मन्त्री भण्डारीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिने तयारी गरेको छ ।

सोमबार मन्त्री भण्डारीलाई भेटेर शुभकामना व्यक्त गरेका संघका अध्यक्ष भण्डारीले शुभकामना तथा बधाई कार्यक्रमकाबिच वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधानका विषयमा छलफल गर्ने बताए । उनले तत्कालका लागि संख्या सयको समस्या समाधानका लागि जोड दिने उल्लेख गरे । 


वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले मन्त्रालयमा अनुभवी मन्त्रीको नियुक्तिले व्यवसायीका समस्याको समाधान हुने आशा जागेको टिप्पणी गरे । 


महासंघका पूर्वअध्यक्ष पूर्णबहादुर मल्लले प्रजातान्त्रिक प्रणाली र प्रक्रियाबाट निर्वाचित भइ आएको जनप्रतिनिधि भएकाले विगतको जस्तो दलगत र व्यक्तिगत स्वार्थमा केन्द्रित नभइ सबै पक्षका जायज समस्याको समाधान हुने अपेक्षा गरिएको टिप्पणी गरे ।