हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले कृषक तथा उद्यमी महिलाहरुलाई विभिन्न उपयोगी सामग्री बितरण गरेको छ । गाउँपालिका परिसरमा आज (सोमबार) आयोजित समारोहका बीच पाँचवटै वडाबाट छनोटमा परेका २०१ जना कृषकलाई विद्युतीय स्प्रे र १७५ जना कृषकलाई मकै रोप्ने आधुनिक मेसिन प्रदान गरिएको छ । 

त्यस्तै १८ जना महिला उद्यमीलाई माग अनुसार सिलाई मेसिन, पिको मेसिन, इन्टरलक मेसिन, टेबल–सोकेस, इन्भर्टर–ब्याट्री, हेयर ड्रायर क्लिमिङ, स्ट्रेट आइरन, दुई वटा उद्यमी समूहलाई इलेक्ट्रिक सिलाई मेसिन र टेबल सोकेस प्रदान गरिएको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रमबाट लागत सहभागितामा लगभग १५ लाख मूल्य बराबरका सामग्री वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा भएको सामग्री हस्तान्तरण समारोहमा झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य एवम् पूर्व उपप्रधान, उर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझालगायतले कृषक तथा उद्यमीहरुलाई सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिङदेनले प्राप्त गरेका सामग्रीको भरपूर उपयोग गरी उत्पादकत्व बढाउन एवम् उद्यमशीलताको विकास गर्न कृषक तथा उद्यमीहरुलाई आग्रह गरेका छन् । नेपाललाई कृषिप्रधान देश भनिए पनि वर्षेनि अरबौं रुपैयाको खाद्यान्न, तरकारी तथा फलफूल आयात भइरहेको भन्दै पूर्वमन्त्री लिङदेनले प्राप्त सामग्री उपयोग गर्दै कम्तीमा आत्मनिर्भर बन्न पनि किसानलाई आग्रह गरे ।

गाउँपालिका अध्यक्ष लिङदेनले विगतमा शतप्रतिशत अनुदानमा सामग्रीहरु वितरण गरिएकोमा त्यसबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको जनाउँदै यसपटक कृषकले अपनत्व ग्रहण गरुन् र सामग्रीको पूर्ण सदुपयोग होस् भन्ने अभिप्रायले लागत सहभागितामा सामग्री हस्तान्तरण गरिएको बताए । 

कार्यक्रमको सञ्चालन गाउँपालिकाको प्रशासनतर्फका राजन न्यौपानेले गरेका थिए ।