मोरङ ।

मोरङको विराटनगर महानगरपालिका ४ इक्राहीबाट एक सय एक किलो गाँजा सहित तीन जना पक्राउ परेका छन् ।  बा ६ च ४६८९ नम्बरको कारमा लागू औषध गाँजा ल्याउदै गरेको भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 


कारको डिकीमा लोड गरि ल्याउदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको थियो । पक्राउ गरिएका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


 जिल्ला प्रहरी कार्यालय मोरङबाट कार चालक मोरङ केराबारी गाउँपालिका ५ का ३६ बर्षीय सुरेश लिम्बु, कारमा सवार धनकुटा सागुरिगढी गाउँपालिका–२ का ३४ बर्षीय सुभाष नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका–१३ कि ४२ बर्षीया लक्ष्मि राई बिकलाई प्रहरीले पक्राउ गरेको छ । 


त्यसैगरी सुनसरीको दुहबी नगरपालिका–१२ गेलाबारीबाट मोटरसाईकलसहित २५ किलो २४५ ग्राम गाँजा बरामद भएको छ । इलाका प्रहरी कार्यालय चिमडी र प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले प्र१–०२–०५३प ८९६१ नम्बरको बेबारिसे मोटरसाईकल पछाडी बोरामा लोड गरिएको २५ किलो ५२० ग्राम गाँजा फेला पारेको थियो । मोटरसाईकल चालक सम्बन्धमा खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।