विराटनगर । 

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक अर्जुन तामाङमाथि भएको कुटपिटको घटनाप्रति विभिन्न विद्यार्थी संगठन र प्राध्यापकहरुले विरोध गरेका छन् । 

तामाङलाई गत बिहीबार बिहान क्याम्पस लागिरहेको समयमा उनको कार्यकक्षमै पुगेर स्ववियु सदस्य समेत रहेकी अनेरास्ववियुकी नेतृ रिङ्कु चौधरीसहितको समूहले आक्रमण गरेको थियो । तामाङलाई कुटपिट गर्न चौधरीसहित अनेरास्ववियुका क्याम्पस इकाई अध्यक्ष माधव पासवानसहितको समूह तामाङको कार्यकक्षमा पुगेको थियो । 

उक्त घटनाको विरोधमा संयुक्त विज्ञप्ति प्रकाशित गर्दै महेन्द्र मोरङ क्याम्पस नेविसंघका प्रशान्त यादव, अखिल क्रान्तिकारीका रोहित यादव, समाजवादी विद्यार्थी युनियनका राकेश यादव, अनेरास्ववियू समाजवादीका गिरेन्द्र भुजेल, स्वतन्त्र विद्यार्थी मञ्चका प्रबल अधिकारी, नागरिक विद्यार्थी समाजका हरेराम शर्मा र अखिल समाजवादी (विप्लव)का भुवनेश्वर साहले स्ववियु सदस्य रिन्कु चौधरी तथा अनेरास्ववियु इकाई अध्यक्ष माधव पासवानलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । यस्तै महेन्द्र मोरङ आदर्श क्याम्पसको नेपाल राष्ट्रिय प्राध्यापक संगठनले पनि घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ । 

क्याम्पस इकाई समितिका संयोजक नारायण दासले एक विज्ञप्ति प्रकाशित गर्दै उपप्राध्यापक तामाङमाथि केही विद्यार्थीहरुले अमर्यादित दुव्र्यबहार गरेको कार्य निन्दनीय र आपत्तीजन भएको जनाएको छ । उक्त संगठनले सम्बन्धित दुवै पक्षलाई यथाशीघ्र बोलाई सत्य, तथ्य के हो, बुझी समस्या समाधान गर्न माग गरेको छ । 

यस्तै अखिल क्रान्तिकारी मोरङ क्याम्पसका अध्यक्ष रोहित यादव र सचिव लक्ष्मी मण्डलले छुट्टै एक विज्ञप्ति जारी गर्दै उपप्राध्यापक कुटपिटको घटनाप्रति घोर निन्दा र भत्र्सना गरेको छ । दिनदहाडै उपप्राध्यापक तामाङलाई कुटपिट गर्ने समूहलाई तत्काल कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सो संगठनले क्याम्पस प्रशासनसँग माग गरेको छ । 

तामाङ महेन्द्र मोरङ क्याम्पस शिक्षा शास्त्रको कार्यक्रम संयोजक पनि हुन्् । उनले आफूलाई आक्रमण भएको र काम गर्ने वातावरण नभएको भन्दै शिक्षा शास्त्र कार्यक्रम संयोजकबाट राजीनामा दिएका छन् । 

गत २०८० साउन २८ गतेदेखि मानविकी संकाय बिए दोस्रो वर्षको परीक्षा चलेको थियो । उक्त परीक्षामा उपप्राध्यापक तामाङ आन्तरिक पर्यवेक्षक थिए । पर्यवेक्षण गर्ने क्रममा एक छात्रा विद्यार्थीले चिट चोरेको देखेपछि उनले चिट खोसे । 

सोही आधारमा उपप्राध्यापक तामाङले तत्कालिन क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई चिट र निवेदन दिए । रिजल्टमा ती विद्यार्थी एक्सफेल भए । सोही कारण केही विद्यार्थीले आक्रमण गरेको तामाङको भनाइ छ ।