झापा । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ डाँडागाँउमा गएराती गाउँ पसेको चार वटा जंगली हात्तीको समुहले चार वटा घरमा क्षति पुर्याएको छ । 

 बिर्तामोड–७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले आज (आइतवार) बिहान राती २ बजेको समयमा चारवटा जंगली हात्तीले क्षति गरेको टेलिफोन मार्फत अस्थाई प्रहरी चौकी गारामनीमा जानकारी गराएका थिए । खवर प्राप्त हनु साथ प्रहरी टोली घटना स्थल पुगेर घटनाको बिस्तृत जानकारी लिएको थियो । 

जंगली हात्तीले बिर्तामोड–७ डाँडागाँउका नवराज लिम्बु, सोही स्थानका डम्बर बिक, सोनु सुनुवार र सोही वडास्थित खालबारीका खगेन्द्र घिमिरेको घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । 

लिम्बुको टिनको छानो, ईटाको पर्खाल भएको २ तले टांडेघरको पर्खाल भत्काउदा अन्दाजी एक लाख पचास हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।

बिकको टिनको छानो, ईटाको पर्खाल भएको १ तले घरको पर्खाल भत्काउदा आंशिक क्षति भएको र घर भित्र रहेको अन्नपात खाई अन्दाजी ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । 

त्यस्तै सोनु सुनुवारको टिनको छानो, ईटाको पर्खाल भएको १ तले घरको पर्खाल भत्कीदा घर आंशिक क्षति भएको र घर भित्र रहेको अन्नपात खाएर अन्दाजि मुल्य ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ । 

त्यसैगरी खालबारीका खगेन्द्र घिमिरेको टिनको छानो, काठको घेराबारा भएको २ तले टांडे घरको घेराबेरा भत्काई घर भित्र रहेको अन्नपात खाई अन्दाजी ४० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

चार वटा हात्तीले  चारवटा घरमा क्षति पुर्याउँदा जम्मा अन्दाजी तीन लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।