झापा ।  

नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा शुक्रबार पहिरोसँगै त्रिशूलीमा खसेको बसको खोजी कार्य भएको छ।

जिल्ला प्रहरी कार्यालय चितनवनले बस र यात्रुको खोजीकार्यका लागि टोली परिचालन भइसकेको जनाएको छ । शुक्रबारको तुलनामा आज खोजी कार्य पनि अलि सहज हुने प्रहरीले जनाएको छ । 

शुक्रबारको तुलनामा शनिबार त्रिशूलीमा जलसतह कम भएका कारण पनि खोजीकार्यमा सहज हुने  साथै हिजोको तुलनामा पानीको बहाब कम भएकाले अहिले पानी पनि नपरेकोले आजको खोजी अझै प्रभावकारी हुने प्रहरीले जानकारी दिएको छ । 

खोजी कार्यमा  नेपाल प्रहरीका एक सय जना भन्दा बढी सुरक्षाकर्मी, नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन भएका छन् । शुक्रबार बस खसेको सिमलताल र त्यस वरपर ५ किलोमिटर क्षेत्रमा चुम्बक र रड प्रयोग गरी खोजी गरिएको थियो। त्यसक्रममा बसको पर्दा र कपडा भेटिएको थियो । शनिबार खोजि अझै बृहत र प्रभावकारी हुने बताइएको छ । 

बिहीबार राति काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ  आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए ।

काठमाडौँबाट गौर आउँदै गरेको बसमा २७ र वीरगञ्जबाट काठामाडौँतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका थिए। उक्त घटनामा तीन यात्रु पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए।

फाइल तस्वीर