सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त  आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आज (बुधवार) भएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेको जनाइएको छ । वर्षातको समयमा रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै रोटरी क्लवले रक्तदान कार्यक्रमलाई आफ्नो वार्षिक क्लालेण्डरका रुपमा संचालन गर्दै आएको रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष लुवराज उप्रेतीले जानकारी दिए ।

दान मध्येको पनि महादान रक्तदानमा स्थानीय स्तरमा रहेका बैंक तथा बित्तिय संस्थाहरुबाट उल्लेख्य सहभागीता रहेको अध्यक्ष उप्रेतीले बताए । स्वार्थ भन्दा माथी सेवा भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै विश्वव्यापी रुपमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको अन्तर्राष्ट्रिय सामाजिक संस्था अन्तर्गतको रोटरी क्लब अफ सुरुङ्गाले  रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै अघि बढ्ने जनाएको छ ।

रक्तदान आफ्नो स्वास्थ्यका लागि पनि फाइदा जनक भएकाले नियमित रुपमा रक्तदान गरि रगत अभावको अवस्थालाई समेत कम गर्न सकिने कार्यक्रम संयोजक समेत रहेका क्लवका प्रेसिडेन्ट नोमिनी अर्जुन बोहोराले जानकारी दिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा झापाको प्राविधिक सहयोग रहेको बताइएको छ ।

क्लवका अध्यक्ष लुवराज उप्रेतीको सभापतित्व एवं नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा रोटरी इन्टरनेशनलका एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेत, कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रुपनारायण खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रम संयोजक अर्जुन बोहोराले औचित्य सहित शाव्दीक स्वागत गरेको कार्यक्रममा क्लवका पुर्व अध्यक्ष समेत रहेका रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ वर्ष २०२४÷२५ का एसिस्टेन्ट गभर्नर कुमारमणि पोखरेल, पुर्व अध्यक्षहरु सुशिलकुमार श्रेष्ठ, खेमप्रसाद प्रसाई, निवर्तमान अध्यक्ष शिवकुमार कडेल सहित अन्य पदाधिकारी तथा सदस्यहरु साथै रोट्रयाक्टका अध्यक्ष प्रतावबाबु जमरकट्टेल, निवर्तमान अध्यक्ष सारिका गिरीसहित पदाधिकारी एवं सदस्यहरु, स्थानीय क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको बताइएको छ । कार्यक्रमको संचालन रोटरी क्लवका सचिव सोमनाथ उप्रेतीले गरेका थिए ।