झापा । 

अविरल वर्षाका कारण झापाका बिभिन्न पालिकामा डुवान र कटानका कारण बस्तीमा मानिसहरु प्रभावितसहित क्षति भएको छ । गएरातीदेखि परेको पानीले झापा, गौरीगञ्ज गाउँपालिका, गौरादह र मेचीनगर नगरपालिकामा डुवान, कटान र क्षति गरेको छ । बर्षाकासँगै झापाका बिभिन्न खोलामा आएको वाढीका कारण कतै, डुवान, कतै कटान, कतै बिस्थापित, कतै क्षति गरेको छ । 

गौरीगञ्ज गाँउपालिका र झापा गाँउपालिका वडा नम्बर १ सिमानको टपुमा  माईखोलाको पानीको बहाव बढी कटान हुँदा झापा गाँउपालिका २ सुगाबथान  बस्तीमा अन्दाजि २.५ फिट पानी पस्दा सो  स्थानको ५१ घर परिवार  प्रभावित भएका प्रहरीले जनाएको छ । 

मंगलबार राती अन्दाजी १ः३० बजेको समयमा गौरादह नगरपालिका ६ मा रहेको रतुवा खोलामा पानीको बहाव बढेर सोही स्थानमा रहेको टगुवा टोलमा रहेको ताजपुरीया बस्तीमा २५ घरमा पानी पसेर सामान्य क्षति पु¥याएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरी चौकी कोहबरामा उक्त खबर प्राप्त हुन साथ प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीका अनुसार त्यहाँ बिस्थापित हुने अवस्था तत्काल नरहेको, सामान्य पानी पसेको, उक्त खोलामा पानीको बहाव घट्ने क्रममा रहेको जनाइएको छ । 

अविल बर्षाको कारण मेचीनगर नगरपालिका १ र ४ को सिमाना प्रसाद गैडामा मेची खोलामा आएको बाढीले कटान गर्दा हात्ति छेक्न लगाएको  तीन ओटा पिलर सहित थिङकिङ तार समेत, बगाई क्षति भएको प्रहरीले जनाएको छ । 

आज (मंगलबार) १२ः३० बजेको समयमा प्रहरी चौकी बाहुनडाँगीमा जानकारी प्राप्त हुन साथ प्रहरी चौकी बाहुनडाँगी प्रहरी टोली त्यस स्थानमा पुगेको थियो ।  उक्त कटानबाट एक लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।