झापा । 

बैदेशिक रोजगार बिभागले फ्रि भिसा, फ्रि टिकट अर्थात शून्य लागतमा कामदार पठाएको विवरण पठाएका म्यानपावर कम्पनीहरूले कुनै रकम लिएको भए उजुरी दिन आग्रह गरेको छ ।

करिव  दुई दर्जन म्यानपावर कम्पनीले चालु आर्थिक वर्षमा फ्रि भिसा, फ्रि टिकट अर्थात शून्य लागतमा कामदार वैदेशिक रोजगारमा पठाएको विवरण सार्वजनिक गर्दै बिभागले रकम लिएको भए उजुरी दिन आग्रह गरेको हो । २ दर्जन म्यानपावर कम्पनीले मात्र बिभागलाई फ्रि भिसा, फ्रि टिकट बिबरण समयसीमा भन्दा अगाडी नै  विभागलाई पठाएका छन् । विभागले फ्रि भिसा, फ्रि टिकटमा कामदार पठाएको विवरण साउन १ गतेभित्र बुझाउन गत असार १७ गते सूचना प्रकाशित गरेकोे थियो ।

विभागले म्यानपावर कम्पनीसँग फ्रि भिसा, फ्रि टिकटअन्तर्गत पठाएको श्रम गन्तव्य मुलुक, रोजगारदाता कम्पनीको संस्था, कामदारको नाम, उनीहरूको नेपालको सम्पर्क नम्बर, काम, तलबलगायतका विवरण पठाउन भनेको थियो ।

विभागले दिएको समयसीमाभन्दा एक हप्ताअघि नै विवरण पठाउने म्यानपावर कम्पनीहरू करिव २ दर्जन रहेको जनाएको छ । अघिल्ला वर्षहरूमा १६ देखि १८ हजार नेपाली फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारमा गएको आंकलन छ । व्यवसायीले विवरण पठाएपछि चालु आर्थिक वर्षमा फ्रि भिसा, फ्रि टिकटको पछिल्लो चित्र स्पष्ट हुनेछ ।

फ्रि भिसा, फ्रि टिकटको डिमाण्डमा कामदार पठाएको भएपनि कतिपय म्यानपावर कम्पनीले एजेन्ट र बिचौलिया परिचालन गरेर विगतमा जस्तै ठूलो रकम लिएको आशंका वैदेशिक रोजगार विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ । 

तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको कार्यकालमा २०७२ सालमा फ्रि भिसा, फ्रि टिकटको व्यवस्था आएको हो । वैदेशिक रोजगार व्यवसायी संघले उक्त निर्णयमा केबल ४ प्रतिशत मात्रै नेपाली कामदार गएको र केही कामदार उक्त निर्णय आउनु अगाडिदेखि नै फ्रि भिसा, फ्रि टिकटमा गएकाले  बिना अध्ययन अनुसन्धान सस्तो लोकप्रियताका लागि आएको निर्णय भनि विरोध गर्दै आएको छ ।