बिर्तामोड । 

झापाबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । दमकबाट दुईजना र मेचीनगरबाट एकजना पक्राउ परेका हुन् । आइतबार दिउँसो ४ बजे दमक ४ स्थित कृष्ण मन्दिरमा लागूऔषध खरिद बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोस्ट ताराबारीबाट खटिएको टोलीले दुई जना कारोबारीलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दमक ४ का ३१ वर्षीय भानु बाह्रकोटी र मोरङ उर्लाबारी ७ का ३६ वर्षीय खगेन्द्र न्यौपाने रहेका छन् । उनीहरुको साथबाट ६ ग्राम ब्राउनसुगर र नगद ६७ हजार ८ सय रुपैयाँ फेला परेको थियो ।

 दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । त्यस्तै, हिजो साँझ ७ः३० बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बुद्धशान्ति गाउँपालिका १ का २१ वर्षीय विशाल श्रेष्ठ पक्राउ परेका छन् । 

उनीमाथि शङ्का लागेर सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गरेको थियो । 

त्यस क्रममा उनले लगाएको पाइन्टको गोजीबाट हरियो रङको प्लास्टिकमा पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको ६७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।