झापा । 

सर्बियामा बन्धक बनाइएका ११ जना मध्ये ९ जनाको अवस्था अझै अज्ञात रहेको छ । वैदेशिक रोजगारीका लागि सर्बियामा गएका ११ जना मध्ये झापाका बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशी छुटेपनि अन्य ९ जनाको अवस्था अझै अज्ञात रहेको छ । 

 मानव तस्करले  गत हप्ता बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशीसहित ११ जनालाई सर्बियामा बन्धक बनाइएको खबर सार्वजनिक भएको थियो । सर्बियाको जंगलमा बन्धक बनाएर परिवारलाई प्रतिव्यक्ति तीन लाख रुपैयाँ फिरौती रकम मागेको पिडीतका आफन्तले बताएका छन् ।

आमाशु र पशुपतिसँगै बाह्रदशी–५ का २९ वर्षीय दीपेश राजवंशी, शिवसताक्षी नगरपालिकाका बम राजवंशीलगायत ११ जनालाई बन्धक बनाइएको थियो। उनीहरुलाई काठमाडौंको एफएस वर्कर एजेन्सी प्रालिका विज्ञान खनाल र झापा मेचीनगर इँटाभट्टाकी सपना राजवंशीमार्फत सर्बिया पठाइएको पीडित परिवारको भनाइ छ ।

खनालले आमाशुलाई रोमानिया पुर्‍याइदिने भन्दै झण्डै १४ महिना झुलाएपछि अहिले सरकारले टाइट गरेकाले रोमानिया पठाउन समस्या भएको र त्योभन्दा राम्रो साढे ५ सय युरो तलब र अन्य सुविधा हुने रोमानियाको छिमेकी देश पठाइदिने भन्दै सर्बिया पुर्‍याएको पीडितका परिवारले बताएका छन् ।

सर्बिया पुर्‍याएपछि उनीहरूलाई आकर्षक तलब सुविधाको रोजगारी नदिइ त्यो भन्दा राम्रो ठाउँ इजिप्ट पठाउने भन्दै सर्बियाको जंगलमा पुर्‍याएर बन्धक बनाइ फिरौतीबापत लाखौं रकम तिर्न बाध्य पारिएको उनीहरुको भनाइ छ । 

रोमानियामा रहेका सपनाका पति नरेश राजवंशी पनि एफएस वर्कर एजेन्सीको समन्वयमा रहेको बताइएको छ । रोमानियामा बस्ने एक नेपाली एजेन्टमार्फत तस्करसम्म रकम पुर्‍याउने गरिएको पीडितका परिवारले बताए पनि त्यस कार्यमा नरेश संलग्न रहे–नरहेको स्पष्ट नभएको उनीहरूले बताएका छन् ।

बन्धक बनाइएका नेपालीले आफूहरूलाई जंगलमा हातखुट्टा बाँधेर राखेको र रकम नबुझाए गोली हानेर मार्ने धम्की दिएको भिडियो कलमार्फत परिवारसँग गुनासो सुनाउने गरेका थिए । नेपालीलाई बन्धक बनाउने समूहको हिन्दी, अरबी र पाकिस्तानी भाषामा कुराकानी हुने गरेको बताइएको छ । 

सर्बिया उडाउने एफएसका सञ्चालक खनालले आफूले वैधानिकरूपमा सर्बिया पठाएको भन्दै आफ्नो कुनै दोष नरहेको बताएर उम्कने प्रयास गरेकाले यसबारेमा वैदेशिक रोजगार विभागले पनि चासो राख्नुपर्ने पीडित परिवारले माग गरेका छन् ।