झापा । 

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीसँग फ्रि भिसा, फ्रि टिकटमा कामदार पठाएको विवरण माग गरेको छ । बिभागले ब्यवसायीहरुसँग फ्रि भिसा, फ्रि टिकटमा कामदार पठाएको विवरण गरेपछि करिब १० वर्ष पुरानो उक्त नीतिका बारेमा पुनः चासो बढेको छ । विभागले गत हप्ता म्यानपावर कम्पनीहरुलाई चालु आर्थिक वर्षमा फ्रि भिसा, फ्रि टिकटमा पठाएका कामदारको विवरण माग गरेको थियो ।

विभागले म्यानपावर कम्पनीहरुलाई फ्रि भिसा, फ्रि टिकट अन्तर्गत पठाएको श्रम गन्तव्य मुलुक, रोजगारदाता कम्पनीको संस्था, कामदारको नाम, उनीहरुको नेपालको सम्पर्क नम्बर, काम, तलबलगायतका विवरण पठाउन भनेको छ । अघिल्ला वर्षहरुमा १६ देखि १८ हजार नेपालीहरु फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारमा गएको आंकलन छ ।

विभागले व्यवसायीलाई विवरण पठाउन भदौ १ गतेसम्मको समयसीमा तोकेको छ । व्यवसायीले इमानदारीपूर्वक विवरण पठाएको अवस्थामा फ्रि भिसा, फ्रि टिकटको पछिल्लो चित्र स्पष्ट हुनेछ ।

फ्रि भिसा, फ्रि टिकटको डिमाण्डमा कामदार पठाएको भएपनि कतिपय म्यानपावर कम्पनीले एजेन्ट र बिचौलिया परिचालन गरेर विगतमा जस्तै ठूलो रकम लिएको आशंका विभाग र मन्त्रालयको नेतृत्वले गरेको छ । यस्तो अवस्थामा फ्रि भिसा, फ्रि टिकटमा गएका कामदारको विवरण माग गरेर फ्रि भिसा, फ्रि टिकटमा कामदार पठाएका म्यानपावर कम्पनीलाई अप्ठ्यारो पार्न खोजेको कतिपयले टिप्पणी गरेका छन् ।

तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको कार्यकालमा २०७२ सालमा फ्रि भिसा, फ्रि टिकटको व्यवस्था गरेको थियो ।  वैदेशिक रोजगार व्यवसायी संघले उक्त निर्णयमा केबल ४ प्रतिशत मात्रै नेपाली कामदार गएको र केही कामदार उक्त निर्णय आउनु अगाडिदेखि नै फ्रि भिसा फ्रि टिकटमा गएकाले बिना अध्ययन अनुसन्धान सस्तो लोकप्रियताका लागि आएको निर्णय भनि विरोध गर्दै आएका छन् ।

वैदेशिक रोजगार व्यवसायीले खाडी तथा मलेसियासहितका देशमा एक जना कामदार पठाउँदा न्यूनतम १ लाख ३२ हजार रुपैयाँभन्दा बढी प्रवर्द्धन खर्च अर्थात लागत रहेको भन्दै त्यसलाई ध्यान दिएर फ्रि भिसा, फ्रि टिकटको व्यवस्थालाई कार्यान्वयनमा ल्याउनुपर्ने माग गरिरहेका छन् । 

मन्त्रालयले गत वर्ष नै फ्रि भिसा, फ्रि टिकटको प्रभावकारिताबारे अध्ययन गर्न एउटा कार्यदल गठन गरेको थियो । तर कोरिया पठाउँदा झण्डै २ लाख रुपैयाँ र इजरायल पठाउँदा डेढ लाख रुपैयाँ लिने सरकारले व्यवसायीहरुलाई शून्य लागत नभएको अवस्थामा १० हजार रुपैयाँ मात्रै लिएर पठाउन भनिरहेको छ ।