झापा ।
शुक्रबारदेखिको निरन्तर भइरहेको वर्षा आज आइतबार देशका धेरै ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखिको झरी हाल केही स्थानमा निरन्तर भइरहेको छ । तर, आज राति कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी महाशाखाले जनाएको हो ।
राति नै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको पनि आकलन गरिएको जानकारी दिइएको छ ।
आइतबार सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षा हुने देखिएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि आकलन गरिएको छ ।
सोमबार भने हालको अवस्था भन्दा सुधार आउने देखिन्छ । तर, वर्षा भने कायमै रहनेछ । सबै प्रदेशका थोरै स्थानहमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ ।