झापा ।
नेपाल पत्रकार महासंघको निर्वाचन फेरी स्थगित भएको छ । महासंघले दोस्रो पटक गत असार ७ गते निर्वाचन कार्यतालिका प्रकाशन गरेर असार २२ गतेका लागि तोकेको निर्वाचन कार्यक्रम पनि स्थगित भएको हो ।
महासंघले पहिलो पटक गत जेठ २६ गतेका लागि निर्धारण गरेको निर्वाचन सम्बन्धी कार्यक्रम सदस्यता शुद्धिकरणलगायतका बिषयले गर्दा स्थगित भएको थियो । दोस्रो पटक असार २२ गतेका लागि तोकेको निर्वाचन कार्यतालिका कार्यक्रम अगाडि बढिरहेको अवस्थामा तत्काल सृजित असहज बातावरणका कारण निर्वाचन कार्यक्रम गर्न नसकिएको भन्दै शुक्रवार निर्वाचन समितिले सूचना जारी गर्दै स्थगित भएको जानकारी दिएको छ ।
महासंघको २७ औं महाधिवेशनले गत जेठ २६ गते पहिलो पटक केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाका लागि निर्वाचनको मिति तोकेको थियो ।
निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज बतावरण बन्न नसकेको जनाउँदै जारी सूचनामा भनिएको छ ‘मिति २०८१/०३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने व्यहोरा अवगत गराईन्छ ।’ नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने निर्वाचन समितिले जनाएको छ ।
जारी सूचनामा महासंघको निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवि खनाल, सदस्य अरुण पौड्याल, विष्णुमाया भुसाल, शालिकराम सापकोटा र कपिलचन्द्र पोखरेलले हस्ताक्षर गरेका छन् ।