बिराटनगर ।  

मोरङको बिराटनगर महानगरपालिका–१५ बाट अभौतिक मुद्रा प्रयोग कारोवारमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका–११ का २२ बर्षीय शिब शंकर यादब, राजगढ गाउँपालिका–३ का २० बर्षीय दिपक मण्डल, मोरङको जहदा गाउँपालिका–१ का २५ बर्षीय रन्जित कुमार यादब, बिराटनगर-१६ का ३० बर्षीय जनार्दन यादब, २६ बर्षीय सिकिन्दर यादब र सप्तरी नर्घो घर भई बिराटनगर १५ मा बस्दै आएका ३३ बर्षीय संजिव कुमार मण्डल रहेका छन् ।

गत असार १९ गते अपरान्ह बिराटनगर–१५ मा रहेको सोहिता कर्णको घरको दोस्रो तलामा ४ वटा कोठा भाडामा लिई अभौतिक मुद्राको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट परिचालन भएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

घर कोठा खानतलासी गर्दा मोवाइल १६ थान,  बिभिन्न बैंकको एटीएम ४४ थान, भारतिय नम्वरको सिम १३ थान, नेपाली नम्वरको सिम १९ थान, बिभिन्न बैकको चेक २८ थान,  बिभिन्न बैकमा रकम जम्मा गरेको भौचर १५ थान, मोटरसाईकल ३ थान, ईलेक्ट्री फ्रिंङगर प्रिन्ट १ थान र नगद १ हजार ६ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ कोशी प्रदेश प्रहरीले जनाएको छ ।