शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मा सञ्चालित शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा शुरु भएको छ । अस्पतालले शल्यक्रियासहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम तथा बिस्तारित शल्यक्रिया सेवा शुरु गरेको हो । शल्यक्रिया सेवाको उद्घाटन प्रतिनिधि सभाका सभामूख देवराज घिमिरेले आज (बिहीवार) गरेका छन् । 

अत्याधुनिक उपकरणसहित सेवा दिदै आएको शनिश्चरे नगर अस्पतालले नेपालमै पहिलो पटक पालिका अन्तरगत सञ्चालित अस्पतालमा उक्त सेवा शुरु गरेको हो । 

aspatal

अस्पतालले विशेषज्ञ चिकित्सक सहितको इमर्जेन्सी सेवा, डिजिटल एक्स–रे सेवा, फार्मेसी सेवालगायतका सेवा २४ सै घण्टा सञ्चालन गर्दै आएको छ । शल्यक्रिया सेवाको उद्घाटनसँगै नगरको सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षता तथा सभामुख घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । 

  • आमा र आमाको गर्भको शिशुले अव अकालमा ज्यान नगुमाउने :  सभामुख घिमिरे 

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका सभामुख घिमिरेले स्वास्थ्यको जानकारी नपाएर थुप्रै आमाहरुले गर्भमा रहेको बच्चा गुमाउनु पर्ने बाध्यता भएको बताए । उनले शनिश्चरे नगर अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम तथा बिस्तारित शल्यक्रिया सेवा शुरु भएको र अव त्यस्तो नहुने बिश्वास ब्यक्त गरे । उनले अतिविपन्नका लागि नगरमै यस प्रकारको अस्पताल सञ्चालनसँगै आर्थिक अभावले अव आमाको गर्भमै शिशुले ज्यान गुमाउनु नपर्ने बताए । अत्याधुनिक उपकरणसँगै बिशेषज्ञ चिकित्सकले शनिश्चरे नगर अस्पतालले सेवा प्रदान गर्ने भएकाले आमा र बच्चाले अकालमा ज्यान गुमाउनु नपर्ने बताएका छन् । 

  • नगर प्रमुख बलदेवले ब्यक्तिगत रुपमा १०० जना बिपन्नको स्वास्थ्य बिमा गरिदिने 
सोही अवसरमा नगर प्रमुख बलदेवले आफ्ना हजुरबुबा, हजुरआमा र मातापिताका नामबाट नगरका अतिविपन्न एकसय जनाको स्वास्थ्य बिमा गरिदिने घोषणा गरेका छन् । उनले नगर प्रमुखसँग विपन्न अन्तरगत एक सय जनाको स्वास्थ्य बिमा गरिदिने घोषणा गरेका हुन् । नगर प्रमुख बलदेवले नगरबाट पाउने पारिश्रमिकबाट एकसय जनाको स्वास्थ्य बिमा गरिदिने घोषणा गरेका छन् । साथै ‘इच वान, हेल्प वान’ कार्यक्रम अन्तरगत थप दुई सय जना अतिविपन्नको स्वास्थ्य बिमा गर्ने उनले बताएका छन् । 
नगर प्रमुख बलदेवले निजि अस्पताल सरहको अत्याधुनिक अस्पताल नगरमै सञ्चालनमा आएकाले सवै नगरबासीलाई निजि अस्पतालमा गएर लाखौं रुपैयाँ नखर्चिन आग्रहसमेत गरेका छन् । उनले नगरले सकेसम्म रोग नै नलाग्ने खालका कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको बताएका छन् । 

कार्यक्रममा अर्जुनधारा सु–स्वास्थ्य सारा निरोगिता सर्व समृद्धिका बिषयमा डा. योज्ञ ढकालले प्रस्तुतीसमेत दिएका थिए । अस्पतालले यस चालु  आर्थिक बर्ष २०८०/०८१ मा एक लाख ५ हजार ६२९ जना सेवाग्राहीहरुले विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेड डा.योगेश चेम्जोङले कार्यक्रममा स्वागत गर्दै जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले अस्पतालको स्थलगत अनुगमन गरेको थियो । अस्पतालमा विशेषज्ञ डाक्टरहरुको उपलब्धता र अपरेशनसँग सम्बन्धित अत्याधुनिक औजार उपकरण, प्रयोगशालाका सामाग्रीहरु लगायत दक्ष जनशक्ति र अन्य अस्पतालको सम्पूर्ण पक्षको गहन अध्ययनपछि उक्त सेवा ल्याउन सफल भएको डा चेम्जोङले बताए । आगामी दिनमा पनि अस्पतालले अन्य गुणस्तरीय उपचार सहितको शल्यक्रिया सेवाको सञ्चालन गर्ने अस्पतालले जनाएको छ । 

कार्यक्रममा नगरकी उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडाध्यक्ष, कार्यकालिका सदस्य, जनतिनिधि, प्रहरी, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गरेका थिए । कार्यक्रममा नेपाल आइडलको टप ७ मा पर्न सफल इशा सुवेदीले आफ्नो प्रस्तुती दिएकी थिइन् ।