अर्जुनधारा।
झापाको अर्जुनधारा नगरपालिका र करुणा फाउन्डेसनबिच सम्झौता भएको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम कार्यान्वयनका लागि नगर फाण्डेशनबिच सम्झौता भएको हो ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, अर्जुनधारा नगरपालिका तथा अपाङ्गताको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्रविधिक सहयोग रहनेछ ।
अर्जुनधारा नगरपालिका तर्फबाट नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ्ग , उप–प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, महिला बालबालिका शाखा प्रमुख सुर्यमाला पन्धाक र करुणा फाउण्डेसन नेपालका तर्फबाट ब्यवस्थापक सन्तोष घिमिरे, कार्यक्रम अधिकृत अंकित पाठक, पालिका संयोजक सुरेन्द्र गिरी तथा अपाङ्गता स्वावलम्बन समाजका अध्यक्ष केवल बानियालगायतले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त कार्यक्रम अन्तरगत कुनैपनि व्यक्ति जन्मदै अपाङ्गता भएर नजन्मिउन् वा जन्मिएपछि हुनसक्ने अपाङ्गता नहोस भनेर यो क्षेत्रमा संस्थाले काम गरिरहेको बताइएको छ ।
कार्यक्रमले जन्मजात हुने अपाङ्गता रोकथाम तथा जन्म पश्चात विकसित हुने अपाङ्गताको न्यूनीकरण गर्नुका साथै अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिकीकरण र सशक्तिकरणमा विशेष जोड दिनेछ। त्यस्तै कार्यक्रमले अपाङ्गता भएका व्यक्ति मात्र नभएर अपाङ्गता भएका व्यक्तिको परिवारलाई पनि समेट्ने बताइएको छ ।
कार्यक्रम २०८१ श्रावण १ गते देखि सञ्चालन भइ ०८४ असार मसान्तसम्म सञ्चालन हुने सम्झौतामा उल्लेख छ । कार्यक्रम झापा जिल्लाका १५ वटै स्थानीय तहमा सम्झौता हुने र हालसम्म कनकाई, गौरादह, शिवसतासी नगरपालिका तथा कमल गाउँपालिकामा सम्झौता भइसकेको र बाँकी रहेका स्थानीय तहमा सम्झौता हुने फाउन्डेसनका सुरेन्द्र गिरीले बताएका छन् ।