झापा । 

यूएईस्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण लगभग स्थगितको अवस्थामा पुगेको छ । यूएईस्थित नेपाली दूतावासले गत जुन १० देखि परराष्ट्र मन्त्रालयले तयार पारेको अनलाइन प्लेटफर्मलाई वैदेशिक रोजगार विभागले प्रयोगमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) सँग समन्वय गरी मागपत्र प्रमाणीकरण शुरु गरेको थियो ।

तर, प्रणालीमा शुरुदेखि देखिएको समस्या समाधान नहुँदा मागपत्र प्रमाणीकरणको काम विगत १५ दिन यता ठप्प जस्तै भएको व्यवसायीहरु बताउँछन् । दूतावासले प्रयोगमा ल्याएको प्रविधिले काम नगरी मागपत्र प्रमाणीकरणमा गम्भीर समस्या देखिँदासमेत समाधानका लागि ठोस पहल नभएको व्यवसायीहरुको गुनासो छ । कतिपयले नगद लेनदेनका लागि फाइल अड्काएको आरोप लगाउँदै आक्रोशसमेत व्यक्त गर्ने गरेका छन् ।

पटक–पटक दूतावास जाँदा पनि मागपत्र नै प्रमाणीकरण नहुँदा नेपालबाट कामदार लैजान चाहने यूएईका रोजगारदाताहरुले पनि दिक्दारी र निराशा व्यक्त गर्दै आएका छन् । त्यसकै कारणले कतिपय रोजगारदाताले अन्य स्रोत मुलुकबाट कामदार लैजान थालेको बताइएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यूएईको रोजगारीका समस्या समाधान गर्ने जिम्मेवारी पाएका संयोजक नारायण भुसाल अनलाइनबाट मागपत्र प्रमाणीकरण नभएको व्यवसायीबाट निरन्तर गुनासो आएको बताउँछन् । तर, दूतावासका तर्फबाट लामो समयसम्म समस्या समाधान नहुँदा आफू जवाफविहीन बनेको उनको भनाई छ । 

दूतावासले प्रयोगमा ल्याएको प्रणालीबाट सहजरुपमा अनलाइन प्रमाणीकरण नभएपछि कम्तीमा असार मसान्तसम्म पहिलेकै प्रणाली अर्थात फेमिसमार्फत मागपत्र प्रमाणीकरण गरिदिन उचित हुने भन्दै दूतावासलाई पटक–पटक आग्रह गरेको भएपनि दूतावासबाट समस्या समाधानका लागि काम नभएको संघका महासचिव मेघनाथ भुर्तेलले बताएका छन् ।