बिर्तामोड । 

झापाको भामटोलीमा सशस्त्र प्रहरी जवानले स्थानीय व्यापारीलाई आक्रमण गरेर घाइते बनाएका छन् ।  सशस्त्र प्रहरी जवानको हेल्मेट प्रहारबाट झापा–४ भामटोलीका ५० वर्षीय हबिबुल्लाहको नाक र मुखमा चोट लागेको छ ।

नाक र मुख फुटेर रगताम्य भएका उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । आज दिउँसो पन्थापाडा र सुकुम्बासी बस्तीको बीचमा सशस्त्र प्रहरी जवानले झापा ४ का वडाध्यक्ष मोहमद ताहिरकै अगाडि हबिबुल्लाहलाई धकेल्दै हेल्मेट प्रहार गरेका थिए ।

वडाध्यक्ष ताहिरका अनुसार हबिबुल्लाहका भाइ विदेश जाने भएपछि आफ्नो कपडा पसल स्थानीय व्यापारी निर्मल मर्डीलाई बिक्री गरेका थिए । मर्डी सोही पसलका कपडा लिएर मोटरसाइलमा रहेका बेला सशस्त्र प्रहरीले रोकेर सोधपुछ गरेका थिए । मर्डीले कपडाका बारेमा विस्तृत बताए पनि प्रहरीले बील मागेपछि वडाध्यक्ष ताहिर र हबिबुल्लाहलाई बोलाएका थिए । हबिबुल्लाहले कपडाको बील देखाए पनि प्रहरीले मानेनन् ।

बरु उल्टै वडाध्यक्ष ताहिरलाई ‘तिमी को हो, समान छोड् देऊ’  भन्दै हप्काउन खोजेको ताहिरले जानकारी दिए । त्यही बेला सशस्त्र प्रहरी जवानले हबिबुल्लाहलाई धकेलेका थिए । प्रतिक्रिया स्वरुप हबिबुल्लाहले पनि प्रहरीलाई धकेलेका थिए । त्यस क्रममा हबिबुल्लाहमाथि हेल्मेट प्रहार भएको वडाध्यक्ष ताहिरले जानकारी दिए ।