बिर्तामोड ।
झापा बिर्तामोडका ब्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुको हितमा काम गर्नु पर्ने माग अघि सारेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आज (आइतवार) आयोजना गरेको ‘मेयरसँग ब्यवसायी’ विषयक अन्तरक्रिाय कार्यक्रममा सहभागी ब्यवसायीहरुले ब्यवसायीको हकहितका कार्यक्रम ल्याउनु पर्नेमा आवाज उठाएका हुन् । उनीहरुले स्थानीय सरकारले व्यवसायीको संरक्षण गर्नुपर्ने र ब्यवसायीहरुको हितमा कार्यक्रम ल्याउनु पर्ने मागसमेत गरे ।
राज्यलाई सबैभन्दा धेरै कर ब्यवसायीले तिर्ने गरेको बताउँदै उनीहरुले व्यवसायीको हितमा स्थानीय सरकारले कार्यक्रम ल्याउन नसकेको दुखेसो पोखे । कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले कृषि जन्य बस्तुमा संघीय सरकारले छुट दिएपनि स्थानीय सरकारले कृषि जन्य बस्तु निर्यातमा कर लिएको र त्यसलाई हटाइनु पर्ने माग राखे ।
महिला उद्यमी पार्वता खरेल विमलीले बिर्तामोडलाई प्लाष्टिक मुक्त बनाइनु पर्ने र महिला व्यवसायीलाई स्थानीय सरकारले उद्यमशीलतामा जोड्दै लानु पर्ने धारणा राखिन् । झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेतले ब्यवसायीको संरक्षण गर्दै उनीहरुको सुरक्षाका लागि सडक किनारमा सडक बत्ती जडान गर्नु पर्ने बताए । त्यस्तै अग्रसेन भवन बिर्तामोडका अध्यक्ष मोहन मित्तलले करका क्षेत्रमा नगरपालिका लचिलो बन्नु पर्ने र सबै ब्यवसायीलाई करको दायरमा ल्याउनु पर्ने बताए । करतिर्ने व्यवसायीलाई स्थानीय सरकारले सम्मान जनक व्यवहार गर्नु पर्ने उनको धारणा थियो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै उनले बिर्तामोड नगरपालिकाले व्यवसायीको हित हुने गरीका कार्यक्रम ल्याउन नगर प्रमुख पबित्रा महतरा प्रसाईलाई अनुरोध गरे । संघको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने आफू प्रतिवद्ध रहकोसमेत उनले बताए । ‘घरबहाल कर ब्यवसायीले होइन’ अध्यक्ष न्पौपानेले भने ‘घरधनीले तिर्नुपर्छ ।’ उनले घरबहाल कर घरधनिले तिरे भनेर भाडा बढाए संघमा निवेदन दिन समेत ब्यवसायीलाई आग्रह गरेका छन् । अध्यक्ष न्यौपानेले सवै नगर र संघले गर्ने हो भनेर फोहोरमैला ब्यवस्थापन जस्ता सामान्य कुराहरुमा आफु पनि सचेत रहनु पर्ने बताउँदै सामान्य कुरामा जिम्म्मेवार बन्न ब्यवसायीलाई आग्रह गरे । ब्यवसाय धरासायी बन्दै गएपछि धेरै ब्यवसायी पलायन हुने क्रममा रहेकोले उनीहरुको संरक्षणमा नगरले ध्यान दिनु पर्नेमा अध्यक्ष न्यौपानेको जोड थियो ।
कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी बिर्तामोड नगरपालिका प्रमुख प्रसाईले व्यवसायीले उठाएका प्रश्नको जवाफ दिँदै ब्यवसायीहरुका उचित मागलाई सम्बोधन गर्ने बताएकी थिइन् ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष राजेन्द्र कुमार थापा, वलराम कार्की, व्यवसायी गणेश पौडेललगायतले आ–आफ्नो धारणा राखेका थिए । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।