बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको निःशुल्क महिला लक्षित सीप विकास तालिम सम्पन्न भएको छ । बिर्तामोड वडा नम्बर ३ मा आयोजना गरिएको एक महिने तालिम सम्पन्न भएको हो । तालिममा प्रत्येक वडाबाट २÷२ जनाका दरले २० जना महिलाको सहभागिता रहेको थियो । तालिम पशुपति टेक्निकल कलेज प्रालिले आयोजना गरेको हो ।
तालिममा सहभागीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रमाण पत्र बितरण गरेकी थिइन् । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले स्वरोजगार बनाउने उदेश्यले आयोजना गरिएको तालिमलाई व्यवहारमा उतार्न आग्रह गरिन् । स्वदेशमा स्वरोजगार बन्नका लागि र विदेश जानको लागि पनि तालिम उपयोगी रहेको भन्दै दक्षता हासिल गर्न आग्रह गरिन् ।
सहभागिलाई सुजन राईले प्रशिक्षण दिएका थिए । नगरपालिकाको महिला तथा बालबालिका शाखाको सहयोगमा बारिस्ता, लोकसेवा तयारी कक्षा, विद्यालयहरुमा किशोरी आत्मरक्षा, लागूऔषध दुर्व्यसनी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन भएको शाखा प्रमुख पुष्पा कार्कीले जानकारी दिइन् ।
कार्यक्रममा पशुपति टेक्निकल कलेजका अमर पुर्विया, नगरका रोजगार शाखा प्रमुख होमनाथ भट्टराई लगायतको उपस्थिति रहेको छ ।