बिर्तामोड ।
झापाको बिर्तामोड नगर प्रमख पवित्रा महतारा प्रसाईले वडा नम्बर ५ स्थित कनकाई रोडको अनुगमन गरेकी छिन् । इलाम स्टेण्डदेखि सुव्वा चोकसम्मको सडक खण्डमा आरसिसी नाली, स्ल्याब तथा पेवर्स लगाउने काम धमाधम भईरहेकोले नगर प्रमुख प्रसाईले आज (बिहीवार) ईन्जिनियर सहितको टोली लिएर अनुगमन गरेकी हुन् ।
अनुगमनमा नगर उप प्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाअध्यक्ष रोहित प्रसाईलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो । आगामी १० दिनभित्रमा सम्पन्न गर्ने गरी २ खण्डमा काम धमाधम भईरहेको छ ।
इलाम स्टेण्डदेखि नेपाल टेलिकमसम्मको १ सय ८५ मिटर कनकाई निर्माण सेवा र टेलिकमदेखि सुव्वा चोकसम्म ४ सय ६ मिटर आचार्य निर्माण सेवाले ठेक्का लिएर काम गरिरहेको छ । सडक ७ मिटर चौडाई छ । दुवै खण्डमा नाला निर्माण सकेर पेवर्स लगाउने काम सुरु भएकोले चाँडै काम सम्पन्न हुने वडाअध्यक्ष रोहित प्रसाईले बताएका छन् ।
सघनशहरी तथा भवन निर्माण कार्यालय भद्रपुरबाट कनकाई निर्माण सेवाले ८० लाख र आचार्य निर्माण सेवाले १ करोड ५० लाख रुपैयाँमा कामको ठेक्का लिएका हुन् ।