बिर्तामोड । 

झापाको बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरका सबै वडालाई समानुपातिक तवरले बजेट विनियोजन गरेको बताएकी छिन् ।  वडा नम्बर १० को सभाहलमा आज (बिहीवार) आयोजित आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनले  बिर्तामोडमा कुनै प्राकृतिक स्रोत नभएका कारण आम्दानी थोरै हुने गरेको र उठेको बजेटलाई समानुपातिक ढंगले वितरण गरेको बताएकी हुन् ।  

नगर प्रमुख प्रसाईले संघिय सरकारले लगाएको ठेक्कामा विभिन्न प्रकारका समस्या आउने गरेको बताइन् । उनले समयमा काम नहुने, ठेकेदार सम्पर्कमा नआउने लगायतका समस्या रहेको बताइन् । पालिकाले लगाएका ठेक्कामा भने त्यस्तो समस्या नरहेको उनको भनाई छ । 

सहभागीहरुले राखेको जिज्ञासामा बोल्दै नगरप्रमुख प्रसाईले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेको बताइन् । धनिपुर्जा दिने अधिकार पालिकासँग नरहेको भन्दै उनले समस्या हल गर्नु पर्नेमा जोड दिइन् । नगर प्रमुख प्रसाईले अधुरा योजना चाँडै सम्पन्न गर्ने प्रतिवद्दता समेत व्यक्त गरेकी छिन् ।  

 सार्वजनिक सुनुवाईमा सहभागिहरुले टोलविकास संस्थाका काम कर्तव्य र अधिकार, भौतिक पूर्वाधार, कृषि औजार खरिद तथा वितरण, सुकुम्बासी समस्या, खानेपानी, पर्यटन, अपुरा योजना, प्रशासनिक र प्राविधिक समस्या, महिला हिंसा, स्वास्थ्य वीमा लगायतका विषयमा जिज्ञासा राखेका थिए ।  

सहभागीहरुको जिज्ञासालाई नगर प्रमुख प्रसाई, वडा नम्बर १० का वडाअध्यक्ष दुर्योधन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले जवाफ दिएका थिए ।  झापा युनेस्को संघ नेपालको तर्फबाट विजय तिम्सिनाले कार्यक्रमको सहजीकरण गरेका थिए ।