बिर्तामोड ।
नारी संचार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहालले आफ्नो जन्मोत्सको अवसरमा महिला पत्रकारलाई प्रोत्साहन स्वरुप लेखनबृत्ती प्रदान गरेकी छिन् । संस्थाकी संस्थापक अध्यक्ष दाहालले महिला पत्रकारको क्षमता, दक्षता अभिवृद्धि तथा लेखनबृत्तीका लागि नगद पुरस्कार प्रदान गरी अनुकरणीय कार्यको थालनी गरेकी हुन् ।
जन्म दिनको अवसरमा आज (सोमवार) पहिलो पटक उनले भद्रपुर नगरपालिका निवासी बरूण साप्ताहिककी प्रकाशक तथा नारी संचार गृहकी कार्यसमिति सदस्य, पत्रकार इशा प्रधानलाई नगद रू पाँचहजार प्रदान गर्दै अनुकरणीय कार्यको शुरुवात गरेकी हुन्।
ईशा नारी सञ्चार गृह झापाकी संस्थापक सदस्य माया पकवालकी छोरी हुन् । पकवालको सम्पादन तथा प्रकाशन गर्दै आएको बरुण साप्ताहिकलाई आमाको निधन पछि ईशाले निरन्तरता दिंदै आएकी छन् । शिक्षण पेशामा रहेकी ईशाले आमाको निधनपछि पत्रिका प्रकाशन गर्दै आएकी छिन् । उनले लेखनबृत्ती प्राप्त पछि बोल्दै पत्रकारितामा आउने सोच नै नभएको बताइन् । परिबन्धले पत्रकारितामा आएपनि अब भने यसैमा निरन्तरता दिने उनको भनाई थियो ।
सो क्रममा लेखनबृत्ती प्रदान गर्दै संस्थापक अध्यक्ष दाहालले महिला पत्रकारलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्दै लेखकीय क्षमता बृद्धिका लागि उत्प्रेरित गर्ने उद्देश्यले जन्मदिनमा आफूले सानो प्रयास गरेको दाहालले बताइन् । आफनो हरेक जन्मोत्सवमा पाँच बर्ष सम्म यस कार्यलाई निरन्तरता दिने उनले बताइन्।