झापा । 

यस चालु आर्थिक बर्षमा वैदेशिक रोजगार विभागमा जेठ मसान्त्सम्मा  ६१ वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएको जनाएको छ । जेठ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै विभागले वैशाखसम्म ५८ र जेठमा ३ गरी ६१ वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएको जनाएको हो ।

वार्षिक तीन हजार जनासम्म कामदार पठाउने कम्पनीलाई ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैंक ग्यारेन्टी, पाँच हजार जनासम्म कामदार पठाउने कम्पनीलाई एक करोड नगद धरौटी र तीन करोड रुपैयाँको बैंक ग्यारेन्टी तथा वार्षिक पाँच हजार जनाभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीलाई दुई करोड नगद धरौटी तथा चार करोड रुपैयाँको बैंक ग्यारेन्टी राखेका छन् ।

यस बर्ष दर्ता भएका म्यानपावर कम्पनी वार्षिक तीन हजार जनासम्म कामदार पठाउने योजना बनाई ५० लाख नगद धरौटी र डेढ करोड रुपैयाँको बैंक ग्यारेन्टी पेश गरेका छन् । यसअवधिमा ४३ वटा म्यानपावर कम्पनी खारेज गरिएको विभागले बिभागले जनाएको छ ।

विभागले दर्ता रहेका मध्ये ९८० वटा म्यानपावर कम्पनी सक्रिय रहेको अर्थात् उनीहरू कामदार पठाउन सक्रिय रहेको, ३७ वटा निष्कृय, एउटा निलम्बनमा र ५८४ वटा ब्लक अवस्थामा रहेको बिभागले जनाएको छ । ९८० म्यानपावर कम्पनी सक्रिय रहेको भएपनि जेठमा ७५४ म्यानपावर कम्पनीले ३६ हजार ७ जना कामदार वैदेशिक रोजगारीमा पठाएका थिए ।