हल्दीबारी।
झापाको हल्दीबारी गाउँपालिकाको निरन्तरको ताकेतापछि जलथल खानेपानीले उपभोक्तालाई निःशुल्क १० हजार लिटर खानेपानी दिने सम्झौता गरेको छ। पालिकाको नीति तथा कार्यक्रममा समावेश गरेको निःशुल्क १० हजार खानेपानी बितरण गर्न आनाकानी गर्दै आएको थियो ।
पालिकाले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र गाउँसभामा हल्दीबारीका तिन वटै खानेपानी संस्थालाई १० हजार लिटरसम्म खानेपानी निःशुल्क रुपमा वितरण गर्ने निर्णय गरेको थियो । जलथल, गोलधाप र हल्दीबारी खानेपानीका सम्पूर्ण उपभोक्ताहरूलाई मासिक १० हजार लिटर खानेपानी निःशुल्क गर्ने निर्णय भएको भएपनि उक्त कार्यक्रमलाई गोलधाप र हल्दीबारीले सुरुवातबाटै कार्यान्वयन गरेका थिए । तर, जलथल खानेपानीले राजनीतिक प्रतिशोधको कारण निर्णय कार्यान्वयन नगरी जनतालाई दुविधामा राख्दै आएको थियो।
गाउँपालिकाले पटक–पटक पत्रचार र निरन्तर खबरदारी गरेपछि असार ९ गते खानेपानीका अध्यक्षले गाउँपालिका पुगेर सम्झौता गरेका हुन्।हल्दीबारी गाउँपालिकाले निःशुल्क खानेपानी जनमैत्री एवंम लोकप्रिय कार्यक्रम रहेको छ।
राप्रपाको बहुमत रहेको पालिकामा प्राविधिकधार बाली विज्ञानसहित कक्षा १२ सम्म निःशुल्क शिक्षा, निःशुल्क खानेपानी, विपन्न नागरिकहरुलाई निःशुल्क स्वास्थ्य बिमा जस्ता कार्यक्रमहरु रहेका छन् । त्यस्तै पालिका हाता भित्रै स्वास्थ्य बिमा सेवा लागू हुने २४ सै घण्टा सेवा उपलब्ध भएको आधारभूत अस्पताल पनि सञ्चालनमा रहेको छ।