बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघले सरोकारवालाहरुसँग बिपद ब्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ । भारी वर्षासँगै झापामा जोखिम वढेको भन्दै सवै एकताबद्ध भएर बिपद ब्यवस्थापन गर्न संघले आज (शुक्रवार) झापाको बिर्तामोडमा सरोकारवालासँग अन्तरक्रिया गरेको हो । 

संघले विपद व्यवस्थापनमा संघसंस्थाको भूमिका विषय सचेतनामुलक कार्यक्रम गरेको छ । कार्यक्रममा संघका अध्यक्ष राजु न्यौपानेले विपदको समयमा सबै संघसंस्था एक भएर सहयोगमा जुट्नुपर्ने बताएका छन् । बिर्तामोडमा रहेका संघसंस्थासँग सहकार्य गरेर विपदबाट विस्थापित परिवारलाई अतिथि सदनमा आश्रय तथा खाद्यान्न उपलब्ध गराउन सकिने उनको धारणा रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापा जिल्ला बाढीको उच्म जोखिममा रहेकाले राहत तथा उद्दारका लागि निजी क्षेत्रसँग हातेमालो गर्ने बताए ।

सामाजिक अगुवा तथा एकका लागि एक अभियानका संयोजकसमेत रहेको सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विपदको पूर्व तयारी लागि राहत कोष स्थापना गर्न सुझाव दिए । यसअघिको विपदको समयमा संकलन भएको एक करोड रुपैयाँ बैंकमा मौज्दात रहेको र त्यसमा सबै झापाली मिलेर पाँच करोडको कोष बनाउनु पर्ने उनको भनाइ थियो ।

सामाजिक अगुवा तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले विपद हुनुअघि नागरिक सचेत हुनुपर्ने बताएका छन् । विपदबारे अध्ययन र योजनाको कमिका कारण बर्सेनि क्षति भइरहेको बताउँदै आपत पर्दा हारगुहार माग्नुअघि पूर्वतयारी र सचेतना जरुरी रहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकोले राहत, उद्दार तथा पूर्व तयारीमा एकजुट भएर अगडी बढ्नु पर्ने बताए । कार्यक्रममा झापाका प्रहरी उपरीक्षक मिलन केसी, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण बिमली, वीरता लेडी जेसिजकी अध्यक्ष मिनु ओलीले आ–आफ्नो धारणा राखेका थिए । 

संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बिशाल थापा र सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए । कार्यक्रममा संघका पदाधिकारी तथा कार्य समिति सदस्य, झापा चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।