सुरुङ्गा । 

 झापाको कनकाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दीर्घवहादुर थापाको निधन भएको छ । विगत केही महिनादेखी शारिरीक रुपमा अस्वस्थ भएका थापाको गएराती १ः५० बजे निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

 शारिरीक रुपमा अस्वस्थ भई विभिन्न अस्पतालमा भएको उपचारपछि हाल सुरुङ्गास्थित जेठा छोरा रुद्रवहादुर थापा र बुहारीसहित श्रीमतिको रेखदेखमा रहँदै आएका थिए । पारिवारीक स्रोतका अनुसार थापाको आज १० बजेपछि कनकाई घाटमा अन्त्यष्टी गरिने जनाइएको छ ।

थापाका जेठा छोरा रुद्रबहादुर थापा सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसका प्राध्यापक साथै चम्पापुर माविका सहायक प्रधानाध्यापक समेत हुन् भने कान्छा छोरा विशाल थापा समेत शिक्षण पेशामा आवद्ध छन् । थापाका दुईजना श्रीमति, दुई छोरा, एक बुहारी र एक छोरी र नातीनातिना छन् । आफ्नो स्वास्थ्य भन्दा पनि वडाको विकासमा धेरै चिन्ता भएको बताउने वडाअध्यक्ष थापा गएको स्थानीय तहको निर्वाचनबाट कनकाई–६ को वडाअध्यक्षका रुपमा निर्वाचित भएका थिए । 

दिनप्रतिदिन कमजोर बन्दै गएको शरिर आफैंले थाम्न नसक्ने अवस्थामा पुगेको भएपनि आफ्नो वडा कार्यालय अनि वडामा रहेका सबै टोलमा हरेक दिन पुग्न पाए हुन्थ्यो भन्ने ईच्छा व्यक्त गर्दै आएका थापा जीवनको लामो समय शिक्षण पेशामा आवद्ध थिए । कनकाई ६स्थित चम्पापुर माविबाट अवकास प्राप्त भएका थापा जनप्रतिनिधि हुनु अघिदेखी नै आफ्नो वडामा एक सफल न्यायधिस जस्तै भूमिकामा रहेर वडाबासीलाई सहयोग अनि सेवा प्रदान गर्दै आएका थिए । चम्पापुर माविको व्यवस्थापन समितिको अध्यक्ष समेत भएर विद्यालयको शैक्षिक गुणस्तरमा महत्वपूर्ण भूमिका खेलेका थापा स्थानीय स्तरका विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थामा नेतृत्वदायी भुमिकामा क्रियाशिल थिए ।

 शिक्षक पेशाबाट अवकास प्राप्त बाँकी जीवन जनताको सेवामा बिताउने अठोटका साथ अघि बढेका वडाअध्यक्ष थापाले पहिलो आर्थिक वर्षको सफल नेतृत्व प्रदान गरेका थिए भने अहिले दोस्रो आर्थिक वर्ष समापनको घडीमा अघि बढ्दै थिए ।  

वडाध्यक्ष थापाको निधनले वडासहित नगरको ठूलो क्षति भएको भन्दै कनकाई नगरले थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नगर र नगरका मातहतका कार्यालयहरुमा आज शोक बिदा दिएको छ ।