झापा, जेठ ३२ । 

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

फक्ताङलुङ–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू ९ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । त्यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी ३ वर्षीय छोरी घाइते भएका छन् ।

गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छ वटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।