बिर्तामोड जेठ ३२ । 

पर्याबरण संरक्षणको सन्देश प्रवाह गर्दै विश्व पैदाल यात्रामा निस्किएका रोहन अग्रवालले नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरेका छन् ।  भारतको महाराष्ट्रस्थित नागपूराका २२ वर्षीय रोहनले पर्यावरण संरक्षणका लागि सचेतना जगाउँदै भारत र वंगलादेशको पैददलयात्रा सम्पन्न गरी नेपाल आएका हुन् । पश्चिम नेपालबाट पैदलयात्रा शुरु गरेका रोहनले नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरी झापा आइपुगेका हुन् ।

अर्थ डे अर्गनाइजेशन दक्षिण भारतका महासचिव समेत रहेका उनी झापा आइपुगेसँगै बिर्तामोडस्थित उद्योग वाणिज्यसंघले स्वागत सम्मान गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, पूर्ब अध्यक्ष बलराम कार्की लगायत संघका पदाधिकारीले अग्रवाललाई संघको कार्यालयमा स्वागत सम्मान गरेका हुन् ।

जलवायु परिवर्तनको असरका विषयमा जनचेतना फैलाउँदै नेपालका सबै जिल्ला पैदलयात्राबाटै पूरा गर्ने लक्ष्य सहित विश्व भ्रमणमा निस्किएका उनलाई सम्मान स्वरुप १० हजार रुपैयाँ समेत प्रदान गरिएको छ । नगद प्रदान गर्दै संघका अध्यक्ष न्योपानेले अग्रवालको विश्व पदयात्रा सफलताको शुभकामना दिएका छन् ।

२५ अगष्ट २०२० मा भारतको वनारसबाट विश्व भ्रमणको पदयात्रामा निस्किएका रोहनले हालसम्म २२ हजार किलोमिटर हिँडेर पार गरेका छन् । नेपालको पदयात्रा समापनसंगै उनी कम्वोडिया, म्यानमार, मंगोलिया हुँदै रुस जाने बताइएको छ । विश्वकै सबैभन्दा चियो ठाउँ मध्येको रुसको साइवेरियास्थित ओम्याकोन समेत हिँडेरै पुग्ने उनको लक्ष्य छ । जहाँको औषत तापक्रम माइनस ५५ डिग्री सेल्सियस रहेको छ ।

ओम्याकोनको अहिलेको तापक्रम माइनस ७२ डिग्री सेल्सियस रहेको बताइएको छ । ओम्याकोन भ्रमण सम्पन्न गरेसंगै सार्ककै पहिलो पदयात्रीका रुपमा आफूलाई स्थापित गर्ने उनको लक्ष्य रहेको छ । विश्व पदयात्रामा निस्किएका रोहनले देशलाई  प्लाष्टिक मुक्त बनाउन समेत सन्देश प्रवाह गर्दै आएका छन् । १८ वर्षको उमेरबाट उनी विश्व पदयात्रामा निस्किएका थिए ।