झापा । 

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा समस्या भएपछि मागपत्र प्रमाणीकरणको काम प्रभावित भएको छ । वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको फेमिसमा समस्या आएपछि यूएईस्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणको कार्य प्रभावित भएको हो । 

यूएईस्थित नेपाली दूतावासले सोमबारबाट अनलाइन प्रणालीबाट मात्रै मागपत्र प्रमाणीकरणको प्रक्रिया शुरू गरेको सार्वजनिक गरेको थियो । तर फेमिसमा समस्या आएपछि बुधबार दुई दर्जन बढी यूएईका रोजगारदाताको फाइल अपलोड हुन नसकेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विभाग समन्वय समितिले जनाएको छ । 

त्यसअघि व्यवसायीहरूले सय जनाभन्दा कम संख्याको डिमाण्डमात्रै अनलाइनमा पेस गर्न सकिने र सयभन्दा बढीको डिमाण्ड भएको अवस्थामा रोजगारदाता कम्पनीको प्रतिनिधिसँग छलफल गर्नुपर्ने व्यवस्था दूतावासले गरेको भन्दै असन्तुष्टि जनाएका थिए । बुधबार प्रणालीमा समस्या आएका कारण रोजगारदाता दूतावास पुगेर फर्केपछि व्यवसायी थप निराश बनेको बताइएको छ । 

तर, प्रणालीमा ठोस सुधार नभएको व्यवसायीहरूको भनाइ छ । कतिपयले भने प्रणाली सञ्चालन र मर्मतको ठेक्का पाएको निजी कम्पनीबीच भुक्तानी र कमिशनको कुरा नमिल्दा प्रणालीमा समस्या देखाइएको दाबी गरेका छन् ।