चारपाने । 

झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी–इस्टेट प्रालिको जग्गा निजि भएको र राज्यको सम्पत्ती नभएको कारण सरकारको हक नलाग्ने सञ्चालकहरुले बताएका छन् । गिरीबन्धु टी–इस्टेटका सञ्चालक तथा निर्देशक छत्रबहादुर गिरीले सर्वोच्चको फैसलाले पनि गिरीबन्धु टि–इस्टेट राज्यको सम्पत्ती नभएको पुष्टि भएको बताएका छन् । 

प्रालिका सञ्चालकहरुले आज (बुधवार) बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर गिरीबन्धु टी–इस्टेटको जग्गा सरकारको नभएको बताएका हुन् । सञ्चालक तथा निर्देशक गिरीले आफ्नो निजी सम्पत्ति सरकारको भएजस्तो गरी सार्वजनिक भइरहेका प्रतिक्रिया र टिप्पणीप्रति कडा आपत्ति जनाएका छन् । उनले आफूहरूको निजी जग्गालाई सरकारी जस्तो गरेर सञ्चार माध्यमले प्रचारप्रसार गरेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । भूमिसम्बन्धी ऐन हकबन्दी छुट भएका सवै उद्योगका लागि एउटै नियम भएको गिरीले बताएका छन् । 

सञ्चालक गिरी परिवारले चिया बगानको जग्गा निजी भएको जनाउँदै त्यसमा सरकारको कुनै हक दाबी नलाग्ने बताएका छन् । गिरीले तीव्र शहरीकरणको चपेटामा परेको बिर्तामोड क्षेत्रमा चिया बगान राख्न नहुने जनाउँदै जसरी पनि चिया बगानलाई अर्को स्थानमा स्थानान्तरण गरेर गिरी बन्धुको जग्गालाई व्यवस्थित शहरीकरणको विकासका लागि प्रयोग गर्ने बताएका छन् ।

giribandhu

उनले आफ्नो निजी सम्पत्ति सरकारलाई चाहिए नगरपालिका वा मालपोत कार्यालयको मूल्याङ्कनका आधारमा बेच्ने आफुहरु राजि रहेको जनाउँदै सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा बगान स्थानान्तरणको सुनिश्चितता गर्न आफूहरू तयार भएको बताएका छन् । केपी ओली सरकारको नेतृत्वको पालामा संसदबाट भूमिसम्बन्धी ऐन संशोधन भएको जनाउँदै गिरीले त्यसमा कुनै नेताको नाम जोड्न आवश्यक नभएको र त्यो प्रक्रियासंगत भएको स्पष्ट पारे । 

गिरीले सर्वोच्च अदालतको आदेश अनुसार आवश्यक मापदण्ड पूरा गरी जग्गा सट्टापट्टा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने जनाएका छन् । भूमिसम्बन्धी ऐन र नियम मिचेर जग्गा सट्टापट्टाको लागि निवेदन नगरेको बताउँदैै बगान व्यवस्थापनले सर्वोच्च अदालतले केही प्राविधिक विषयहरू मात्रै औँल्याएको जनाएको छ ।

२०२१ सालमा भूमिसम्बन्धी ऐन लागू हुनुअघि नै गिरीबन्धुले चिया खेती विस्तार गरेको सञ्चालक गिरीले बताए ।  हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएको पनि हाल गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको उनले बताए । उनले बिर्तामोड शहरी रुपमा बिकास भइरहेकोले चिया बगान स्तान्तरण गर्न आवश्यक रहेको बताए । शहर बढेसँगै चिया बगानमा लागूऔषध प्रयोगकर्ता बढ्दै गएको  र विभिन्न प्रकारका विषादी तथा मलखादका कारण मानव स्वास्थ्यमा गम्भीर समस्या हुने भएकाले पनि चिया बगान स्तान्तरण गर्न आवश्यक रहेको बताएका छन् । 

बढ्दो शहर बजारका कारण चिया बगान मासिदै गएको र उद्योगले बार्षिक १ करोड १७ लाख रुपैयाँ घाटा ब्यहोरी रहेको उद्योगका निमित्त प्रवन्धक सन्तकुमार राईले जानकारी दिए । उनका अनुसार बगानमा दैनिक जसो २५ वढी लागूऔषध प्रयोगकर्ता आउने भएकाले असुरक्षासमेत बढेकोछ । 

सर्वोच्च अदालतले हालैसालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको अर्का सञ्चालक नविन गिरीले बताए । उनले एकै ठाउँमा धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गा ब्वस्थापन गरिने उनले बताए । जग्गा सट्टापट्टाका लागि धेरै जग्गा किन्नुपर्ने भएकाले आर्थिक कारोबार नगरी सम्भव नहुने उनको भनाई छ ।

पत्रकार सम्मेलनमा सञ्चालक भरतलाल गिरी, प्रशान्त गिरी, श्याम गिरी, समिर गिरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी चन्द्रकान्त ढकालले गरेका थिए ।