बिराटनगर।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले महिला हिंसा तथा मानव वेच बिखन बिरुद्ध जनचेतनामुलक भिडियो ‘सचेतना’ सार्वजनिक गरेको छ । 

प्रमुख अतिथि सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बिहीवार कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच भिडियो सार्वजनिक गरेका हुन् ।  सामाजिक विकास मन्त्रालयको सहयोगमा कोशी प्रदेश प्रहरी कार्यालयद्वारा निर्मित भिडियो सार्वजनिक गरिएको हो । 

मन्त्री राईले समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको लागि महिला हिंसा तथा मानव बेचबिखनको बास्तविक घटनालाई उजागर गरी चेलिबेटीलाई प्रलोभनमा पारी बिभिन्न मुलुकहरुमा बेचिने गरेको तितो सत्यलाई छर्लङ्ग पारी समाजमा सचेतना फैल्याउन संदेशमुलक भिडियो निर्माण गरेकोप्रति प्रदेश प्रहरी कार्यालयलाई धन्यवाद ब्यक्त गरे । उनले अपराध नियन्त्रणको लागि यस्ता प्रकारका सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको सदैव साथ र सहयोग रहने बताए । 

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले गाउँ घरमा गरिबी र बेरोजगारीका कारण सोझा सिधा दिदी बहिनीहरूलाई कसरी ललाई फकाई बेचबिखन गरिन्छ भन्ने भिडियोमार्फत सन्देश दिन खोजिएको बताएका छन् । 

कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी गण बिराटनगरका गणपति प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, सिनियर तथा जुनियर प्रहरी अधिकृत सहित प्रहरी कर्मचारीहरुका साथै संचारकर्मीहरुकोसमेत उपस्थिति रहेको थियो ।