हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले चालु आर्थिक बर्ष  २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा मकै रोप्ने मेशिन र बिद्युतीय स्प्रेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

पालिकाको सबै वडाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी संस्था, कृषि फार्म, उद्यमी कृषकहरुबाट दरखास्त आव्हानका लागि सूचना जारी गरेको छ । 

बुधवार सूचना प्रकाशित गरी जारी मितिको १५ औं दिन भित्र कार्यबिधिमा तोकिएअनुसार निवेदन दिन पालिकाले आग्रह गरिएको हो । 

गत जेठ २३ देखि आगामी असार ५ गतेसम्म आवश्यक कागजातहरु संलग्न राखि आवेदन दिन पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) द्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ । सूचना भनिएको छ ‘रित नपुगी वा म्याद नाघी प्राप्त हुन आएका प्रस्ताब उपर कुनै कारवाही हुने छैन ।’

सूचनामा संस्थाको हकमा संस्था दर्ता वा नविकरण भएको प्रमाण पत्र र स्थायी लेखा नम्बर र करचुक्ताको प्रतिलिपी, समुह सहकारीको हकमा कार्य समितिको निर्णय प्रतिलिपी, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपी, जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने जग्गाधनी प्रमाणपत्र र मालपोत तिरेको रसिदको प्रतिलिपी, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रलगायत पेश गर्नुपर्ने छ ।