सुरुङ्गा । 

श्रीमतीले सवै धन सम्पत्ती लिएर हिडेको भन्दै ताप्लेजुङबाट श्रीमानसहित परिवार झापा आएका छन् । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा न ५ पेदाङ्गका  ५४ वर्षिय आषाराज लिम्बु आफ्नी श्रीमती ४४ वर्षिया  इन्द्रकला मावो (लिम्बू) ले गत बुधबार आफ्नो सारा धन सम्पत्ति लिएर सम्पर्क विहिन भएको भन्दै झापा आएका हुन् । 

पीडित श्रीमान लिम्बुसहित १७ बर्षिय छोरा मेसेहाङ्ग लिम्बू, बहिनी कविता लिम्बू अन्य परिवारका सदस्य उनको खोजीमा झापा आएका छन् । पाँचथरको थर्पु घर भएकी  ४४ वर्षिया  इन्द्रकला मावोसँग  २०५९ सालमा मागी बिबाह भएको श्रीमान आषाराजले बताए । ।

बिवाहपछि परिवारको सुख सुविधाका लागि  आषाराज वैदेशिक रोजगारीका लागि खाडीमुलुक गएको बताए । उनी बैदेशिक रोजगारका लागि बिदेशिएपछि परिवारलाई केही समय सुनसरीको धरानमा  राखेका बताए । अझै एक मात्रै १७  वर्षिया छोरा मेसेहाङ्ग लिम्बूको पढाईका लागि भन्दै राजधानी काठमाडौमा बस्न थाले । वैदेशिक रोजगारीमा कमाई राम्रै हुन थालेपछि  आषाराजले  श्रीमती  इन्द्रकलाका लागि ब्युटीसियन सिकाएर ब्युटी पालर खोलिदिएको बताए । 

 ‘अहिले घरमा गाडी पनि खरिद गरेको स्कुटर पनि थियोे । परिवार राम्रोसँग चल्दै थियोे । तर, परिवारमा केही समय अघिबाट केही खटपटी चल्यो । अलग अलग बस्ने  भनेर श्रीमतीले नै निवेदन दिएपछि जिल्ला अदालतले सम्बन्ध बिच्छेद गरिदियो । फेरि त्यसको दुईहप्ता बित्न नपाउदै श्रीमतीले नै हामीसँगै बस्ने भनेर सम्बन्ध बिच्छेदको मुद्दा  फिर्ता लिइन् ।’ श्रीमान आषाराजले भने । 

अहिले फेरि गत बुधबार छोरा मेसेहाङ्ग र बुवा ५४ वर्षिया आषाराज लिम्बुलाई छोराको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यलय ताप्लेजुङमा पठाई घरमा केही समय अगाडी जग्गा बेचेको ३२ लाख नगद,  करिब १५ तोला सुन र ८० तोला माथि चाँदी लिएर झापाको शिवसतासी नगरको वडा न ८ स्थित डुडामारीमा शेर्मा थरिको घरमा बिबाह गरि आएको भन्दै पीडित आषाराजले न्याय दिलाई दिन सवैसँग आग्रह गरेका छन् । 

उनले श्रीमतीले लगेको आफ्नो सम्पुर्ण श्री–सम्पत्ति फिर्ता दिलाईदिन अपिल समेत गरेका छन् । उनले इलाका प्रहरी कार्यलय झिलझिलेमा श्रीमतीको फोटोसहित  पनि निवेदन दिएको बहिनी कविता लिम्बूले जानकारी दिइन् ।  

यता इलाका प्रहरी कार्यलय झिलझिलेका प्रमुख अनिस बुढाथोकीले काठमाडौबाट इन्द्रकला हराएको र  सारा सम्पत्ति लिएर झिलाझिले आसपासमा दोस्रो बिबाह गरि आएकोले खोजी गरि न्याय दिलाईदिनु हुन भनी निवेदन परेकोले खोजी कार्यजारी रहेको बताएका छन् । उनले निवेदन आउना साथ पीडित परिवारलाई लिएर सशंका गरेको घरमा जाँदा चावी लागाएको फेला परेकाले खोजी गरिरहेको भइरहेको बताएका छन् । उनले कसैले देखे भेटेमा नजिकैको प्रहरी कार्यलयलाई खवर गर्न समेत आग्रह गरे ।