भद्रपुर ।
झापाको भद्रपुरमा किरात धर्मावलम्बीहरुको महान चाड उभौली पर्व (लाक्छाम) आज मनाइएको छ । किरात राई यायोक्खा भद्रपुर ५–१० संयुक्त प्रारम्भिक समितिको आयोजनामा भद्रपुर–९ स्थित भूमेथानमा विविध कार्यक्रमका साथ उभौली पर्व मनाइएको हो । प्रारम्भिक समितिका अध्यक्ष रंगवीर राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा झापा अध्यक्ष गणेश राईको प्रमुख आतिथ्य रहेको थियो ।
प्रारम्भिक समिति उपाध्यक्ष बुद्धिमान राईले स्वागत गरेको कार्यक्रमका बिच धार्मिकस्थल परिसरमा निर्माण भएका भौतिक संरचनाहरुको उद्घाटन समेत गरिएको छ । भूमेथान परिसरमा नवनिर्मित माङ्हिम (मन्दिर), मूलद्वार, ट्रष्टसहितको कार्यक्रम स्थल र शौचालयको प्रमुख अथिति राई उद्घाटन गरेका थिए । मन्दिर र ट्रष्टसहितको कार्यक्रम स्थल प्रारम्भिक समिति अध्यक्ष रंगवीर राईले आफन्तजनको स्मृतिमा र मूलद्वारा सामाजिक व्यक्तित्व सेतुमान राईले निर्माण गरिदिएको बताइएको छ।
निर्माण समितिका सल्लाहकार नीरबहादुर राईले संरचना निर्माण समितिको प्रतिवेदन प्रस्तुत गर्दै आम्दानी र खर्चका बारेमा जानकारी दिए । उनका अनुसार एक करोड २७ लाख रुपैयाँको बहुउपयोगी भवन निर्माण गर्ने लक्ष्यका साथ काम शुरु भइसकेको छ ।
किराँत येले सम्बत् ५०८४ समेतको शुभकामना आदान–प्रदान गरिएको कार्यक्रममा प्रमुख अतिथि गणेश राई, विशिष्ट अतिथि प्रा.डा.पृथ्वीबिक्रम राई, समाजसेवी दिव्य भूर्तेल, जिल्ला समितिका सल्लाहकार समर राई, किराया भद्रपुर–चन्द्रगढीका पूर्वअध्यक्ष डुक्पा राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा हल्दिबारी, पृथ्वीनगर, चन्द्रगढी, अर्जुनधारा, मेचीनगर लगायत स्थानबाट आएका १० वटा भन्दा बढी साकेला टोलीले साकेला सिली प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन प्रारम्भिक समिति सचिव टिका साम्पाङ राईले गरेका थिए ।