झापा ।
कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।
आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। ती भू–भागहरूमा आगामी २ दिन (जेठ १९ गते देखि जेठ २० गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ ।
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैस् थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्तालगायत हुन सक्ने भएकाले सतर्कता अपनाउन समेत बिभागले आग्रह गरेको छ ।