अर्जुनधारा । 

गिरीबन्धु टि–स्टेटका मजदुरलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले खाद्यन्न वितरण गरेका छन् । गत ४ महिनादेखि पारिश्रमिक नपाएका चिया मजदुरलाई नगर प्रमुख बलदेबले ब्यक्तिगत रुपमा खाद्यन्न वितरण गरेका हुन् । पारिश्रमिक नपाएर खाना समस्या भएका एकसय २५ परिवारबढी  चिया मजदुरको घरमै पुगेर नगर प्रमुख बलदेवले खाद्यन्न सहयोग गरेको बताइएको छ । 

नगर प्रमुख बलदेवले चिया मजदुरको घर–घरमा पुगेर शुक्रवार र आज शनिवार २५ केजी चामलसहित दाल, नुन, तेललगायतका सामाग्री वितरण गरेका छन् । उनले आफुले निर्वाचनका समयमा नगर भित्र कुनैपनि मजदुर, गरिव, अतिविपन्न समुदायमा समस्या परेको खण्डमा ब्यक्तिगत रुपमा सकेको सहयोग गर्ने प्रतिवद्धता गरेको भन्दै ४ महिनादेखि चिया मजदुरले पारिश्रमिक नपाएको र उनीहरुको चुला बल्न छाडेको थाहा पाएपछि आफुले सकेको सहयोग नगरबाट नभएर ब्यक्तिगत रुपमै गरेको बताए । 

उनले नगरबासीलाई कसरी सुखी र खुसी पार्ने भन्ने नगर र आफ्नो योजना रहँदै आएकाले पनि पारिश्रमिक नपाएर खाना समस्यामा परेका चिया मजदुरलाई खाद्यन्न सहयोग गरेको बताए । 

नगर प्रमुख बलदेवले निर्वाचन ताका आफुले गरेको प्रतिवद्धतालाई पूरा गर्न पनि समस्यामा परेका विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको बताएका छन् । खाद्यन्न वितरण कार्यक्रममा नगर प्रमुख बलदेवसँगै अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनाम, कार्यपालिका सदस्य सन्तोष मेचे, वडा सदस्यसहित अन्य जनप्रतिनिधिहरुकोसमेत उपस्थित रहेको थियो ।